सकियो पाँचदिने म्याद, अब के हुन्छ रविलाई ?

रविको 'मंगल' कस्तो छ : चितवनमा मंगलबारले नै संकेत गर्छ । तस्विर : सामाजिक सञ्जाल

सञ्चारकर्मी रवि लामिछानेमाथि अनुसन्धानका लागि अदालतले दिएको पाँच दिने म्याद सकिएको छ । चार दिनसम्म अनुसन्धान गरेर पाँचौ दिन प्रहरीले वयान लिने काम गरेको छ । वयानमा रविलाई के सोधियो र के जवाफ दिए ? त्यो सार्वजनिक भएको छैन । 

प्रश्न अब रविलाई के होला ? भन्ने भर्चुअल वर्ल्डमा पनि रियल वर्ल्डमा पनि छ । सम्भावनाका आधारमा आआफ्ना किसिमका अनुमानका खेतीहरू जारी छन् । 

नेपालको कार्यविधि कानुनका जानकारहरू भन्छन्- अव प्रहरीसँग दुईवटा बाटा छन् । पहिलो, प्राप्त प्रमाणका आधारमा सरकारी वकिलमार्फत् मुद्दा दायर गर्ने । दोस्रो, अनुसन्धानका लागि थप म्यादका लागि अदालतसँग अनुरोध गर्ने ।

प्रहरीले अनुसन्धान सकेको ठान्यो भने पहिलो बाटो अपनाउन सक्छ । त्यस्तो अवस्थामा जिल्ला अदालत चितवनसँग केही विकल्पहरू हुन्छन् । पहिलो, रविलाई धरौटीमा छोडेर मुद्दा अगाडि बढाउने । दोस्रो, रविलाई विना धरौटीमा छोडेर मुद्दा अगाडि बढाउने । तेस्रो, रविलाई जेलमै राखेर मुद्दा अगाडि बढाउने । 

यी तीन विकल्पमध्ये दोस्रो विकल्प नै अदालतले लिने सम्भावना रहन्छ । यसअघि यस्तै प्रकृतिका मुद्दाहरूमा अदालतलेआरोपीलाई धरौटीमा छोडेर मुद्दा चलाएको पाइन्छ । गत वर्ष मात्र प्रचलनमा आएको यो कानुनअनुसार अहिलेसम्म ६२ जनामाथि मुद्दा चलाइसकिएको छ । 

तर, प्रहरीले अनुसन्धान सकिएन भन्यो भने फेरि एकपटक म्याद थप्ने अनुरोध लिएर अदालत जाने दोस्रो विकल्पमा जान सक्छ । त्यस्तो अवस्थामा अदालतले अरू थोरै समयको म्याद दिन सक्छ । पहिलोचोटि पाँचदिने म्याद दिएकाले अब तीन दिन वा एक दिनको म्यान दिने सम्भावना रहन्छ । त्यसपछि भने प्रहरीको अनुसन्धानको आधारमा सरकारी वकिलले मुद्दा चलाउनै पर्छ । 

कानुनत: यस्तो भए पनि रविका समर्थकहरू तेस्रो विकल्प अर्थात् रविलाई जेलमै राखेर मुद्दा अगाडि बढाउने सम्भावना रहेको बताउँछन् । उनीहरू रविलाई सुनियोजित रूपमा फसाउन खोजिएको आरोप लगाउँदै बाँकि दुई सम्भावनाहरू देख्दैनन् । त्यसैले उनीहरू रविलाई विना शर्त रिहाइ गर्नुपर्ने माग गरिरहेका छन् । उनीहरू ठान्छन् रविलाई यस आरोपमा मुद्दा चलाउनु नै गलत हो ।

गत विहीबार काठमाडौंमा पक्राउ परेका रवि लामिछाने र उनका सहकर्मी युवराज कँडेल अनि यही प्रकणमा आरोपित अस्मिता कार्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । उनिहरूमाथि पत्रकार शालिकराम पुडासैनीलाी आत्महत्या गर्न दुरूत्साहन गरेको आरोप लागेको छ । गत साउन २० गते चितवनको बसपार्कस्थित कंगारू होटलमा मृत अवस्थामा भेटिएका पुडासैनीको मोबाइलमा भेटिएको भिजुअल सुसाइडल नोटमा रविलगायत कँडेल र कार्कीलाई आत्महत्या दुरूत्साहनको आरोप लगाइएको छ ।

 

प्रकाशित मिति: : 2019-08-20 01:15:46

प्रतिकृया दिनुहोस्