गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडालाई आगामी दुई बर्षका लागि अन्टारियोको टोरन्टो निवासी चिरन्जिबी घिमिरेले नेतृत्व गर्ने भएका छन् ।
एनआरएनए क्यानडाको शनिवार टोरन्टोमा सम्पन्न १२ औं राष्ट्रिय सम्मेलनले घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नर्सिङ पेशामा आवद्ध घिमिरे टोरन्टोस्थित ‘सिटी अफ टोरन्टो’मा कार्यरत छन् । गुल्मी जिल्लामा जन्मिएका घिमिरे नेपालमा प्राध्यापन पेशामा संलग्न थिए । एनआरएनएको ‘राष्ट्रिय समन्वय परिषद’ (एनसीसी) मा टोरन्टो निर्वाचन क्षेत्रबाट यसअघि उनी निर्बिरोध निर्वाचित भएका थिए ।
विगत नौ बर्षदेखि परिवारसहित स्थायीरुपमा क्यानडा बसोबास गर्दै आएका घिमिरे ‘वामपन्थी’ विचारक मानिन्छन् । तर, घिमिरेले भने आफू र एनआरएनएको नवनिर्वाचित टिम गैरराजनीतिक भएको दावी गर्दै आएका छन् ।
क्यानडाका नेपालीमाझ पुरानो मानिएको ‘नेप्लिज क्यानेडियन कम्युनिटी सर्भिसेज्’ (एनसीसीएस)मा सचिव र उपाध्यक्ष भइसकेका घिमिरे यसअघि एनआरएनए क्यानडाको महासचिव थिए ।
‘पहिलेका तीतामिठा बिर्सेर अब हामी एनआरएनए क्यानडालाई एउटा उचाईमा पुर्याउने गरी काम गर्छौं’ नवनिर्वाचित घिमिरेले भने, ‘यो संस्था क्यानडाका सबै नेपालीको आशा र भरोसाको केन्द्र बनाउनेछौं ।’
‘दुई बर्षे कार्यकालमा के के अपेक्षा गर्न सकिन्छ ?’ भन्ने ‘ब्रेक एण्ड लिंक्स’को प्रश्नमा अध्यक्ष घिमिरेले भने, ‘एनआरएनएको सम्पर्क अफिस खोल्छौं, सामुदायिक भवन बनाउँछौं, बालबालिकाका लागि केही नेपाली भाषा कक्षा खोल्छौं ।’ नेपालीलाई जोड्न खेलकुद र सांस्कृतिक कार्यक्रमलाई एनआरएनए क्यानडाले निरन्तरता दिने उल्लेख गर्दै अध्यक्ष घिमिरेले नेपाली संघ संस्थावीच समन्वयात्मक व्यवहार गर्दै अभिभावकीय भूमिका निर्वाह गर्ने बताए ।
कार्यसमितिका कुनै पनि पदमा एक जनाभन्दा बढीको उम्मेद्वारी नपरेपछि निर्बिरोधरुपमा घिमिरेको अध्यक्षतामा कार्यसमिति बनेको हो ।
नयाँ कार्यसमितिका तीन उपाध्यक्षमा स्कार्ब्रोका हेमन्त थापा, एडमण्टनका अर्जुन बिश्वकर्मा र मिसिसागाका बिजय पौडेल निर्वाचित भएका छन् ।
महासचिवमा ब्राम्प्टनका पिताम्बर भट्टराई, सचिबमा स्कार्ब्रोका फडिन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टोरन्टोका सरोज भट्टराई चयन भएका छन् ।
ब्राम्प्टनका नेत्र खतिवडा (दिनेश), क्याल्गेरीका अनन्त आचार्य, सास्काचुनका देबेन्द्रहरी सुवेदी र मिसिसागाका तुलासिंह भट्टचन, मानिटोवाका सुसील दोरङ्गा र ब्रिटिश कोलम्बियाका शरद शेरचन सदस्यमा चुनिएका छन् ।
चन्द्र राई आयुक्त रहेको निर्वाचन समितिले एनआरएनए क्यानडाका पूर्वअध्यक्षद्वय गोपीकृष्ण काफ्ले र तुल्सी सापकोटालाई एनआरएनए क्यानडाको अन्तराष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा मनोनित गरेको छ ।
नयाँ कार्यसमितिको पहिलो बैठकले एनआरएन क्यानडाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी)मा रिक्त चार पदमा चार जनालाई मनोनित गर्दै जिम्मेवारीसमेत दिएको छ ।
जसअनुसार, मनोनित ईश्वर खत्रीले युवा विभाग र सुजाता गुरुङले महिला विभाग सम्हाल्नेछन् । यस्तै, अटोवा क्षेत्रबाट सन्तोष बराल र पश्चिम अन्टारियोबाट रबिन्द्र घिसिङ एनसीसीमा मनोनित भएका छन् ।
बैठकले नेत्र खतिवडा (दिनेश) लाई एनआरएनए क्यानडाको प्रवक्ताको जिम्मेवारी दिएको छ । ‘अधिवेशन सभ्य र भब्यरुपमा सफल भएसँगै आफ्नो कार्यकाल पनि राम्ररी पूरा भएको मूल्यांकन गरेको छु’ एनआरएनए क्यानडाका निवर्तमान अध्यक्ष गोपीकृष्ण काफ्लेले भने, ‘नयाँ नेतृत्वले संस्थालाई अझ उचाइमा पुर्याओस्, शुभकामना ।’
बिरामी निको पार्न औषधोपचारसँगै नर्सको भूमिका जसरी अमूल्य हुन्छ, एनआरएनए क्यानडालाई ज्युँदो–जाग्दो बनाउन अब ‘नर्स’ नेतृत्वबाट त्यस्तै सेवासुसुश्राको खाँचो देखिन्छ ।
संस्थागतभन्दा व्यक्तिगत स्वार्थ हावी भयो । त्यही भएर एनआरएनए ग्लोबलकै गरिमा आजकल घट्दो छ । एनआरएनए क्यानडाको साख पनि पहिलेजस्तो छैन । नयाँ नेतृत्वले यी तीता यथार्थहरु आत्मसात गर्दै आफ्नो कार्यकालमा संस्थालाई सम्झनयोग्य बनाओस् ।
संस्था सक्रिय भएको देखाउन सानातिना कार्यक्रम गरेर एनआरएनए नेतृत्वले अब तीनकै सफलतामा दुई चार दिन मख्ख पर्नतिर लाग्नु हुँदैन । नेपाल र क्यानडावीच सेतुको भूमिका निर्वाह गर्दै दुईपक्षीय व्यापार बढाउन सघाउनुपर्छ ।
व्यापार विस्तार गर्न चाहनेहरु धेरै छन् । तर, प्राविधिक र नीतिगत जटिलताले रोकिएका छन् । उनीहरुसँग साक्षात्कार गरेर सरोकारवाला निकायमा त्यस्ता जटिलताबारे बहस चलाउनुपर्छ । हुने र मिल्नेसम्मका उपाय अपनाएर क्यानडा–नेपालबीचको सम्बन्धलाई घनिष्ठ र लाभकारी बनाउनुपर्छ । एकैपल्ट नहोला, एकपछि अर्को प्रयास गर्दै जानुपर्छ ।
नयाँ पुस्तालाई एनआरएनएतर्फ आकर्षित गराई यसको आवश्यकता पुष्टि गर्न सक्नुपर्छ । नयाँ नेपाली आप्रवासीलाई सही सूचना दिने, घटना दुर्घटनामा परेकालाई कोषमार्फत सहयोग गर्ने र क्यानडाभरका नेपालीमाझ आफ्नो आवश्यकता पुष्टि गर्ने काम गर्नुपर्छ ।
नयाँ नेतृत्वले एनआरएनए क्यानडाको इज्जत जोगाउँदै अघि बढ्नपर्छ । अनेक कुरा निकालेर अब वादविवाद र झैझगडामा समय खेर फाल्न हुँदैन । पहिले के के भयो बिर्सेर अब त्यस्तो नहोस् भन्दै ठोस काम गर्नतिर लाग्नुपर्छ ।
देशभित्र र देश बाहिरका नेपालीको हितमा हुने कुनै इस्युमा लक्ष्यमा पुग्नेगरी एड्भोकेसी गर्नुपर्छ । लबिङ गर्नुपर्छ ।
खुद्रा मसिना कुरामा अल्झिनु हुँदैन । संस्थाले दीर्घकालसम्म सम्झनलायक केही महत्वपूर्ण काम नगरी नहुने देखिन्छ । काठमाडौंमा क्यानडाको दूतावास सम्भावना नदेखिए पनि भिसा अफिस खोलाउन लबिङ गर्नुपर्छ ।
काठमाडौंमा भिसा अफिस भए धेरै सजिलो हुन्छ । नयाँ दिल्लीको क्यानेडियन दूतावासमा भारतीय कर्मचारीको भर हुनाले धेरै प्रतिष्ठित नेपालीले पनि क्यानडाको भिसा नपाउने समस्या छ । काठमाडौंमै भिसा अफिस खुले यस्ता जटिलता हट्नेछन् ।
दुई देशबीच व्यापारिक सम्बन्ध दरिलो पार्न एनआरएनएले सरोकारवालाई सघाउनुपर्छ । मालसामान आयात निर्यात त छँदैछ, पर्यटन क्षेत्रमा नेपालले क्यानडाबाट धेरै फाइदा लिनसक्छ । त्यसनिम्ति एनआरएनए क्यानडाले नेपाली राजदूतावाससँग मिलेर नेपाली पर्यटनबारे यहाँ आक्रामकरुपमा सरोकारवालाई अर्थ्याउनुपर्छ ।