डोमिंगो बंगलादेशको प्रशिक्षक नियुक्त

तस्बिरः एजेन्सी

रसेल डोमिंगो बंगलादेश क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बंगलादेश क्रिकेट बोर्डले उनलाई उनलाई आगामी २ वर्षका लागि बंगालदेशी क्रिकेको जिम्मेवारी दिएको हो।

यसअघि दक्षिण अफ्रिकी क्रिकेट टिमको प्रशिक्षकसमेत रहिसकेका ४४ वर्षीय डोमिंगोले आगामी अगस्ट २१ बाट आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

डोमिंगोले बंगलादेश टिमको मुख्य प्रशिक्षक बन्ने क्रममा माइक हेसन र मिकी अर्थरलाई पन्छाएका हुन्।

हेसन भारतको प्रशिक्षक बन्न पनि अन्तिम सुचीमा थिए भने अर्थरको भर्खरै पाकिस्तान क्रिकेट टिमको प्रशिक्षक करार सकिएको थियो।

बंगलादेशले विश्वकप २०१९ पछि प्रशिक्षक स्टिभ रोड्सको सम्झौता नवीकरण गरेको थिएन।

यसैबीच बंगलादेश क्रिकेट बोर्ड अध्यक्ष नज्मुल हसलले हामीले चाहे अनुसारको प्रशिक्षक पाएको बताए। उनले यसका लागि हामिसँग अन्य दावेदारहरु पनि रहेको भन्दै लामो योजना भएको प्रशिक्षकलाई नियुक्ति गर्ने चाहना अनुसार डोमिंगोसंग अनुभव रहेकाले उनको लगाव र प्रशिक्षण सिद्धान्तबाट प्रभावित भएको बताए।

उनले डोमिंगोसंग टिमलाई अघि लैजाने स्पस्ट खाका रहेको दाबी गरे।

यस्तै बंगलादेश बोर्डले ब्याटिङ प्रशिक्षकको रुपमा निल म्याकेन्जीलाई तथा चार्ल ल्याङभेल्टलाई पेस बलिङ तथा ड्यानियल भिटोरीलाई स्पिन बलिङ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। म्याकेन्जी र ल्यांगभेल्ट दुवै दक्षिण अफ्रीकाको प्रशिक्षक स्टाफ रहीसकेका छन्।

बंगलादेश राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त हुन् आफ्नो लागि निकै ठूलो सम्मानको विषय भएको नवनियुक्त प्रशिक्षक डोमिंगोले भने, ‘म बंगलादेशको प्रगति पछ्याईरहेको छु र टिमको उद्देश्य प्राप्तिको लागि काम गर्न निकै उत्साहित छु।’

 

को हुन् डोमिंगो

डोमिंगोले दक्षिण अफ्रीकाको जुनियर लेभल क्रिकेट इस्टर्न प्रोभिन्सको लागि खेलेका थिए भने सिनियर टिममा स्थान बनाउन सकेका थिएनन्।

त्यसपछि २२ वर्षको उमेरमा उनले प्रशिक्षण योग्यता हाँशिल गरेका थिए। उनले २५ वर्षको उमेरमा इस्टर्न प्रोभिन्सको प्रशिक्षकको रुपमा काम गरे।

सन् २००४ अन्डर-१९ विश्वकपमा उनले दक्षिण अफ्रिकी अन्डर-१९ टिमको प्रशिक्षक पद सम्हालेका थिए। त्यसपछि उनले दक्षिण अफ्रिकी घरेलु क्रिकेटमा प्रशिक्षक पद सम्हाले। त्यो अवधिमा उनले प्रशिक्षक ग्यारी किर्स्टनको ब्याटिंग सहायकको रुपमा पनि काम गरे।

जुन २०११ मा डोमिंगो दक्षिण अफ्रिकी क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका थिए। सन् २०१२ डिसेम्बरमा डोमिंगो ग्यारी किर्स्टनलाई प्रतिस्थापन गर्दै दक्षिण अफ्रीका टि-२० टिमको प्रशिक्षक नियुक्त भएका थिए। त्यसपछि २०१३ मा उनले सबै फर्म्याटमा किर्स्टनलाई प्रतिस्थापन गरे। २०१७ सम्म उनले दक्षिण अफ्रिकी टिम सम्हालेका थिए।

डोमिंगोको प्रशिक्षणमा दक्षिण अफ्रिकी टिमले २०१४ टि-२० विश्वकप र २०१५ एकदिवसीय विश्वकपमा सेमीफाइनलमा स्थान बनाउन सकेको थियो।

प्रकाशित मिति: : 2019-08-18 07:11:16

प्रतिकृया दिनुहोस्