रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। लिग अन्तर्गत शनिबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा सेल्टा डी भिगोलाई ३–१ ले हराउँदै रियल मड्रिडले विजयी सुरूवात गरेको हो।
रियल मड्रिडको जितमा करिम बेन्जिमा, टोनी क्रस र लुकास भाज्क्वेजले गोल गरे । सेल्टाका लागि लोसाडाले एक गोल फर्काए ।
खेलको १२ औँ मिनेटमा बेन्जिमाको गोलबाट रियलले सुरूवाती अग्रता लियो।
सेल्टाका ब्राइस मेन्डेजले पहिलो हाफमा नै गोल गरेका थिए। तर, भिएआर मार्फत अफसाइड देखिएपछि सो गोलले मान्यता नपाउँदा रियल मड्रिडले पहिलो हाफसम्म १–० को अग्रता कायम राख्यो।
दोस्रो हाफमा रियल मड्रिडले थप दुई गोल गर्दा एक गोल खान पुग्यो। खेलको ६१ औं मिनेटमा क्रस र ८० औँ मिनेटमा भाज्क्वेजले गोल गर्दा रियल ३-० ले अगाडि बढ्यो। सेल्टाका लागि इन्जुरी समयको पहिलो मिनेटमा एकर लोसाडाले एक गोल फर्काउँदै सान्तवना गोल गरे।
खेलमा रियल मड्रिड दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको थियो। ५६ औं मिनेटमा लुका मोड्रिक सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। डेनिस स्वारेजसँगको च्यालेन्जका लागि लुकाले रातो कार्ड पाएका हुन् । लुका सिजनको पहिलो खेलमा रातो कार्ड पाउन बाध्य भए ।
ला लिगा अन्तर्गत शनिबार राति नै भएका अरु खेलमा कालोर्काले एइबरलाई २–१ तथा ओसासुनाले लेगानेसलाई १–० ले पराजित गरे । यस्तै भिल्लारियल र ग्रानाडाले ४–४ तथा भ्यालेन्सिया र रियल सोसिडाडले १–१ को बराबरी खेलेका छन् ।