करबाकेली ईको ट्रेकः पुनहिल साउथ-वेष्ट

तस्बिरः बिएल

अन्नपूर्ण क्षेत्र संसारकै उत्कृष्ट गन्तब्यमध्येमा पर्छ। जहाँ विश्वभरबाट हजारौं पर्यटक घुम्ने गर्छन्। ८ हजार भन्दा बढी उचाईमा रहेका अन्नपूर्ण र धौलागिरीका हिमालको दृश्यसहित दर्जनौं अग्ला हिमालको लामो लर्कनले जोकोहीलाई मोहित बनाउँछ।

लोपोन्मुख वन्यजन्तु र बोट बिरूवाले भरिपूर्ण यो क्षेत्रमा स्थानीय समुदायको संस्कृति र  रहनसहनसमेत अवलोकन गर्न सकिन्छ।

करबाकेली पदमार्ग पुनहिलबाट दक्षिण-पश्चिम ओरालो पदयात्रा गर्दै फूलबारी निस्कन्छ। फूलबारीमा खाना र बस्नका लागि राम्रा लजहरू छन्।

त्यसपछी गुराँसे बनहुँदै करिब ४ घण्टा पैदल हिँडेपछि म्याग्दीको करबाकेलीथान पुगिन्छ।

यात्राभरी चराचुरूंगी, विभिन्न जंगली फूल र धौलागिरि हिमालको मनोरम दृश्यसँगै सजिलो ओरालो बाटो भएर यात्रा गर्न सकिन्छ । यहाँ जैविक विविधता र हिमालको दृश्यसहित गाउँले संस्कृतिमा रमाउँदै पदयात्राको आनन्द लिन सकिन्छ।

पुर्ख्यौली नाँच, शालैजो, शीरफूल, यानिमाया आदि स्थानीय नाचहरू गाउँमा हेर्न सकिन्छ।

करबाकेली थान

म्याग्दीको काफलडाँडामा रहेको करबाकेलीथान समुन्द्र सतहदेखि २३३२ मिटर उचाईमा छ। करबाकेली बाबा पुन समुदायको कुल देवतासमेत हुन्। थान भित्र करबाकेली बाबा उनका दुई श्रीमती हिमाला र फिमलासहित दुई छोरा रामचन र कुलचनका मूर्ति राखिएको छ।

उक्त थान करबाकेली अनुसन्धान समिति काठमाडौं र करबाकेली बाबा संरक्षण समिति, काफलडाँडाको संयुक्त पहलमा निर्माण गरिएको हो। थान नजिकै पाहुना घर पनि छ जहाँ बास र खानाको राम्रो व्यवस्था  छ।

करबाकेली पदमार्गले कास्की, म्याग्दी र पर्वत जिल्लालाई समेटेको छ।

पहिलो दिन पोखराको नयाँ पुल हुँदै  विरेठाटीसम्म जीप या बसमा यात्रा गरेर उल्लेरीमा बास बस्न सकिन्छ।

दोस्रो दिन उल्लेरीबाट पदयात्रा पछि घोडेपानी बास बस्न पुगिन्छ। तेस्रो दिन पुनहिलमा सूर्योदय र हिमालको दृश्य अवलोकन गरेर फूलबारीमा बास बस्न सकिन्छ या खाना खाएर करबाकेली थान पुग्न सकिन्छ। 

करबाकेली थानबाट चार वटा गोरेटोको बिकल्प छन्। पहिलो, बैंसरीहुँदै बेनी,  दोस्रो रिमा-औलहुँदै बेनी, तेस्रो महभीरबाट मल्जाज निस्केर बेनी, चौथो राम्चे-नाङगीहुँदै पूर्वमा फलामे डाँडा भएर बेनी निस्कन सकिन्छ।

२०७५ सालमा करबाकेली पर्यटन व्यवस्थापन समितिले यो पदमार्ग एक्सप्लोर गरेको हो।

समितिका सल्लाहकार तथा अभियन्ता चाम बहादुर पुनका अनुसार फूलबारीसहित समग्र करबाकेली क्षेत्रको प्रवर्धन गर्दै पर्यटनद्वारा स्थानीयको आय आर्जनमा टेवा पुग्ने बताए।

त्यसैगरी समितिका अध्यक्ष याम बहादुर पुनले पदमार्ग घुम्न आउनेलाई खानपिन, सेवा सत्कार र पुन समुदायको संस्कृति अध्ययन अवोलकन गर्ने उपयुक्त गन्तब्य रहेको बताए।

स्थानीय उत्पादन अर्गानिक परिकार, स्थानीय सत्कार र गाउँले जीवनशैली नै करबाकेली पदमार्गका प्रमुख विशेषता हुन्।

पदमार्ग सजिलो र छोटो छ, आन्तरिक पदयात्रीलाई समेत यो पदमार्गले लोभ्याउने गर्छ।

फूलबारीमा २ वटा होटल सञ्चालनमा छन्। फुलबारी गेष्ट हाउस र अन्नपूर्ण गेष्ट हाउस। जहाँ रातको एकै पटक ५०-६० जनासम्म बास बस्न मिल्ने ठाउँ छ।

करबाकेली पदमार्ग पुनहिलबाट दक्षिण-पश्चिम पैदलमार्ग हुँदै फूलबारी, करबाकेलीथान बाट बेनी बजार निस्किन्छ।

विदेशी र आन्तरिक दुवै पदयात्रीका लागि छोटो र सजिलो गन्तव्य ४-५ दिनमै पुरा गर्न सकिन्छ।  

कसरी पुग्नेः

पहिलो दिनः पोखरा-नयाँपुल- विरेठाटीसम्म

दोस्रो दिनः विरेठाटी-उल्लेरी-घोडेपानीसम्म

तेस्रो दिनः घोडेपानी-पुनहिल-फूलबारी-करबाकेली थानसम्म।

चौथो दिनः करबाकेली थानबाट चार विकल्पका रूटहरू 
१) करबाकेलिथान-बैसेरी-बेनी

२) करबाकेलीथान-रीमा-औल-बसेरी-बेनी

३) कबाकेलीथान-महभीर-बासखर्क-मल्लाज-बेनी

४) क) करबाकेलीथान-राम्चे-नाँगी-फलामे डाँडा

     ख) फलामे डाँडा-मल्लाज-बेनी

पाँचौ दिनः बेनीनी - पोखरा

सम्पर्कः

  • याम बहादुर पुन, फूलबारी म्याग्दी-९८४६१०६६२४
  • वी गर्वुजा पुन, करबाकेलीथान-९८४६८२७९३

 

हेर्नुहोस् तस्बिरमा

प्रकाशित मिति: : 2019-08-16 14:02:05

प्रतिकृया दिनुहोस्