‘‘सर, यो जग्गा मेरी आमाको माइतीले दिएको पेवा हो । आमाले मलाई बकस दिनुभयो । मैले पनि छोरी र श्रीमतीलाई अंशमा दिएको हुँ ।’’
तनहुँ मालपोत कार्यालयमा गएको मंगलवार मभन्दा अगाडि रहेका व्यक्ति कर्मचारीलाई कुरा बुझाउँदै थिए । बाहिर उखुम गर्मी थियो । भित्र पनि सिलिङमा झुन्ड्याइएको पंखा अल्छी मानेर घुमेजस्तो लाग्थ्यो । पक्कै चर्कै गर्मी थियो होला । भिड उस्तै । कर्मचारीको बोली अलि चिडचिडो । सेवाग्राही बिचरा दयाको भिख मागेको मुद्रामा ।
छोरीलाई अंश दिएको भनेपछि मलाई तिनीसँग कुरा गर्न मन लाग्यो । मेरो प्रश्नमा उनी हो हैनभन्दा बढी नखुलेपछि मैले धेरै सोधिन । म उनीभन्दा ठीक पछाडि थिएँ । उनको काम चाँडै सकिएमात्र मेरो पालो आउने । अगिल्लो दिनदेखिकै काम बाँकी थियो । अड्डाकै कर्मचारीले गरेका सानातिना गल्तीको सजाय मैले पनि भोग्दै थिएँ । हाकिमलाई कुरा बुझाएर बक्साएपछि पहिले हुन्न भनेको काम पनि हुने ! हाकिम भन्दै थिए – महालेखाले धुरुक्कै बनाउँछ । के गर्नू ?
छोरीलाई अंश दिएर पास गर्न आउने अधिकारी बन्धु नै परेछन् जामुनेतिरका । हाकिमले चाहिँ ‘जग्गा टुक्रा पार्नमात्र अंशबन्डा पास गर्न लागेको’ शंका गरेका रहेछन् । यसैले नियमअनुसार पास गरिदिनुपर्ने भए पनि धेरै सोधपुछ गरेका होलान् । मलाई चित्त बुझेन । ‘‘सरकारको नीति नै अव्यवहारिक छ । अनि जनताले त्यसलाई छल्ने उपाय खोज्नुपर्छ । के गर्ने? ’’ ती बन्धु बल्ल अलिकति खुले । हाकिमले प्रमुख मालपोत अधिकृतलाई सोधेरमात्र काम गर्ने भनेर तिनको लिखत पन्छाए ।
मेरो काम सजिलै थियो । अगिल्लो दिन कम्युटरमा लेख्ने बेलामा अपरेटरले मेरो बाको नाम र थर बिगारिदिए । सच्याउन भन्दा ‘लक’ भइसक्यो भोलि लिखत पारित भइसकेपछि हाकिमले मात्र सच्याउन सक्ने जानकारी पनि दिए । त्यही सच्याउन म कम्युटर अपरेटरले दिएको संकेत नम्बर लिएर लाममा उभिएको थिएँ । लेखापढी गर्ने नानीले त ’’अर्को पटक मिलाए भइहाल्छ नि !’’ भन्दै थिइन् । मलाई लाग्यो अर्को पटक यही मिलाउन पनि पैसा दिनुपर्ने हुन्छ ।
गएको वर्ष काठमाडौं मालपोतमा पनि बाको नाम कर्मचारीले बिगारे तर सच्याउन ढिलो गरेर अर्को दिन जानुपरेको थियो । अर्को दिन पनि नभ्याइने लक्षण देखेपछि लेखापढी गर्ने भाइले ‘‘एक हजार दिनु आजै काम गराइदिन्छु’’ भने । अर्को दिन आउनुभन्दा जिन्दगीमा पहिलोपटक घुस खुवाउन तयार भएको थिएँ । भुक्तभोगी भएकाले र जति नै गर्मी भए पनि खपेर काम सक्न लाममा बसेको थिएँ ।