रोल्पाको त्रिवेणी गाउँपालिका– २ नुवागाउँकी कमला घर्तीमगरका दुवै खुट्टा छैनन्। दायाँ खुट्टा घुँडाभन्दा तल छैन। बायाँ पनि घुँडाभन्दा थोरै मुन्तिरबाट छैन। उनी चार हातखुट्टा टेकेर हिड्छिन्। सानैदेखि यसैगरी विद्यालय आउने–जाने गरिन्। जन्मथलो रोल्पाको करेटीमा ५ कक्षासम्म पढिन्। पहाडको उकालो–ओरालो घस्रेर नै दिन बिताइन्।
विद्यालयसम्म पुग्न दैनिक एकघन्टा बढी हातकै भर थियो। त्यसरी हिँड्दा हातखुट्टा दुखेर रातभर निदाउन सक्दिनथिन्। ‘मलाई पढ्न सार्है मन थियो, त्यसैले बिहानै ७÷८ बजे नै घरबाट स्कुल हिँड्थे,’उनी भन्छिन्, ‘त्यसरी हिँड्दा धेरै दुःख पाएँ। घर्सेर हिड्दा छोटा खुट्टासँगै हातका छाला गए।’
५ कक्षा पास गरेपछि अलि सहज भयो। कक्षा ६ पढन नुवागाउँ आएपछि विद्यालय घरनजिकै भयो। त्यसपछि पहिलेको तुलनामा दुःख अलि कम भयो। तर, जिन्दगीका दुःख कम भएको थिएन।
यसैवर्र्ष रोल्पाको त्रिवेणी गाउँपालिका २ नुवागाउँस्थित सामुदायिक विद्यालय अरनिको माध्यमिक विद्यालयबाट २.२५ जिपिए ल्याएर एसइइ पास गरिन्। ‘म खुट्टा छैन भनेर रुँदै बसिनँ। बाल्यकालदेखि नै यसैगरी जीवनसँग पौंठेजोरी खेल्दै आएकी छु,’ उनले भनिन्।
उनका अनुसार थाहा पाउने भएदेखि नै उनी खुट्टामा लगाउने चप्पल हातमा लगाएर हिँड्न थालेकी हुन्। घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले समयममा उपचार पाइनन्। ‘घरपरिवारसँग पैसा भएको भए कृत्रिम खुट्टा हाल्न हुन्थ्यो,’उनले भनिन्,‘घरको आम्दानीले खान लाउन ठीक्क हुन्छ ,कसरी खुट्टा राख्न मिल्नु ?’ हिँड्नलाई सामान्य ह्विलचियर भए पनि सहज हुने उनी बताउँछिन्।
‘घिस्रिदै कक्षाकोठासम्म पुग्दा शारीरिक कठिनाईसँगै लगाउने पोशाकसमेत धुलाम्मे हुने गर्थे,’ ‘कमला भन्छिन्, ‘सुख्खा याममा धुलाम्मे र हिउँद बर्षामा हिलाम्मे हुन्थे।’ तर उनले कहिल्यै विद्यालय जान छोडिनन्। ठूलो पानी पर्दा भने उनलाई आमाले बुईमा चढाएर विद्यालयसम्म पुर्याउने गरेकी थिइन्।
अध्ययनका क्रममा उनले धेरै तितामिठा क्षण भोगिन्। आफनो शारीरिक अशक्ततालाई लिएर धेरैले ‘यस्तो मान्छेले किन पढेकी होली’ समेत भने। ‘तर मैले तिनका कुरा कहिल्यै सुनिनँ, कसैप्रति गुनासो पनि गरिनँ., बरु जीवनमा शिक्षाकै रुपमा ग्रहण गरें,’ उनी भन्छिन्।
उज्यालो मुहारकी हँसिली कमला जन्मजात अपांग भने होइनन्। १७ वर्ष अघि रोल्पाको करेटीमा जन्मिँदा उनका खुट्टा सद्दे थिए। एकदिन कमलाकी आमा अमृता घर्तीमगरले छोरीलाई घरभित्र एक्लै सुताएर काममा बाहिर निस्किएकी रहिछन्। नजिकै अँगेनो थियो। पहाडतिर अगेनामा २४सैं घण्टा आगो राख्ने चलन हुन्छ। त्यतिबेला कमला जम्मा ५ महिनाकी मात्रै थिइन्। बामे सर्ने अवस्थामा पुगिसकेकी कमला निन्द्राबाट बिउँझेपछि चलमलाउँदै अगेनामा पुगिछन्। कमलाका बुबा प्रसाद घर्तीमगर र आमा मेलापात गएका थिए। कामबाट घर फर्किँदा बाबुले छोरीलाई अगेनामा देखे। तत्कालै उद्धार गरे।
छोरी अचेत थिइन्। उनका दुवै खुट्टा डढेर ढल्लो परिसकेका थिए। जडिबुटी, स्थानीय क्लिनिक हुँदै दाङसम्म कमलालाई उपचारका लागि ल्याइयो। उपचार सम्भव भएन । त्यसपछि बनेपा अस्पताल पुर्याइयो। चिकित्सकले काम नलाग्ने भइसकेका कमलाको दुवै खुट्टा त्यही काटेर फालिदिए। यसरी उनी अपांगमा परिणत भइन्, केही थाहा नपाउँदै।
अहिले दाङको तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा आन्टी भावना बुढामगरसंँगै डेरा गरेर बस्दै आएकी छन्। कमला दाङ आउनुको खास कारण कम्प्युटर सिक्न हो। कम्युटर सिकेर भविष्यमा आफँै कम्युटर सिकाउने र इन्स्टिच्युट खोल्ने उनको धोको छ। कमलाले उच्च शिक्षाको लागि दाङको घोराहीको एक क्याम्पसमा फाराम भरेको बताइन्। नाम निक्लेपछि घोराहीमै बसेर उच्च शिक्षा हासिल गर्ने उनको चाहना छ।
कमलालाई भावनाले हरेक अप्ठेरो काममा सघाउँदै आएकी छन्। गीत गाउन र चित्र कोर्न रमाउने कमला कहिलेकाहीँ एकान्तमा ‘किन मलाई भाग्यले ठग्यो’ भन्दै रुने गरेको बताइन्। ‘एक्लै हुँदा मेरो खुट्टा भइदिएको भए म पनि साथीहरूसँगै हिड्न, डुल्न र रमाउन सक्ने थिए भन्ने लाग्छ, यी कुरा सम्झँदा नराम्रो लाग्ने गर्छ,’ उनी भन्छिन्।