तपाईंहरूलाई थाहा छ, अचेल देवदेवीहरू नाचिरहेका छन्। कोही महाकाली, कोही लाखे, भैरव त कोही कुन भगवानका रुपमा काठमाडौं उपत्यकाका टोल-टोलमा देखिन थालेका छन्। यो देवदेवीहरूको नृत्यको मौसम हो।
विभिन्न देवदेवीको मुखुण्डो लगाएर साना नानीबाबुदेखि पाका उमेर समूह नाचमा मग्न छन्।
तौलाछेस्थित विश्वकर्मा भैलः प्याखँ खलमा मंगलबार साँझ यस्तै दृश्य देखिन्थ्यो। भैलः अर्थात् भैरव नाचको तयारीमा उनीहरू जुटेका थिए। बाजाको तालमा देवदेवीको नाच्ने 'ताल' पनि कहिले सुस्त त कहिले रौद्र हुन्थ्यो।
नाचका अध्यक्ष कृष्णभक्त प्रजापतिका अनुसार भलभल अष्टमीका दिन नवदुर्गा नाचको बिसर्जनपछि भैलः लगायत अन्य नाचको तयारी सुरू हुन्छ।
गठेमंगलबाटै नेवार समुदायमा परम्परागत नाच र बाजाहरू सिकाउन सुरू गरिन्छ। त्यही दिनबाट यहाँ पनि अःख (नाच सिक्ने चोक) मा नाच पोसाकबिनै नाच सिकाउन सुरू भएको थियो। मंगलबार भने तासका कपडा र मुखुण्डो लगाएर नास द्यः लाई नाच प्रदर्शन गरियो।
'भैलः प्याखँमा छुट्टै किसिमको शक्ति हुन्छ,' प्रजापतिले भने, 'भैरव क्रोधित मुद्रामा नाचेर भुतप्रेत भगाउँछन् भन्ने मान्यता छ।'
इतिहासविद् ओम धौभडेलका अनुसार प्रत्येक वर्ष भलभल अष्टमीमा नवदुर्गा गणको देहावसान हुन्छ। नवदुर्गाको मुखुण्डो नगरको पूर्वस्थित ब्रह्मायणी पीठमा जलाएर अन्त्येष्टि गरिन्छ। तन्त्रमन्त्रबाट नगरबासीलाई सुरक्षा प्रदान गर्ने नवदुर्गाको देहावसानपछि रोगव्याध तथा भूतप्रेत प्रकोप बढ्ने जनविश्वास छ। मान्छेको निधन पनि यही समयमा बढी हुने मान्यताअनुसार 'सापारू' अर्थात् गाईजात्रा पनि यही बेला मनाइन्छ।
नवदुर्गाको जन्म फेरि दसैंमा हुने विश्वास गरिन्छ। त्यतिन्जेल भैरव, महाकाली लगायत देवदेवीले रोग व्याध हटाउँछन् भन्ने मान्यता छ।
'यो हामी किसानहरूको धान रोपेपछिको फुर्सदको समय पनि हो,' नाचका अध्यक्ष प्रजापतिले भने, 'त्यही समय सदुपयोग गर्न पनि नाचहरू गरेका हौं।'
यो नाचमा धा, धिमे, ता लगायत बाजा हुन्छन्। नवदुर्गा नाचमा नबजाइने नालाखिगं बाजा पनि गठेमंगलबाट बजाइने प्रजापति बताउँछन्।
भैलः प्याखँ कहिलेबाट सुरू भयो भन्ने ठ्याक्कै इतिहास नभए पनि मल्लकालबाट सुरू भएको मानिन्छ। यसमा भैरवसँगै उनकै परिवारको ख्याः, लाखे, क्व, बेताल लगायत नृत्य देख्न सकिन्छ। क्व, बेताल लगायत साना पात्र बन्न करिब ६ वर्ष र ठूलोमा २० देखि २५ वर्षको हुनुपर्ने प्रजापतिले बताए। भगवान बन्ने पनि प्रजापति वा अवाल परिवारकै हुनुपर्छ।