मदनमणि दीक्षितको जीवनलाई फर्किएर हेर्दा उहाँका तीन आयाम देखिन्छन्। उहाँको जीवनसँग साहित्य, पत्रकारिता र राजनीतिक तीनै चिज जोडिएका छन्। उमेरको हिसाबले भन्दा उहाँ मेरो बा पुस्ताको मानिस हुनुहुन्थ्यो तर हाम्रो सम्बन्ध आत्मीय थियो।
मलाई सम्मान गर्ने अथवा मैले आयोजना गर्ने कार्यक्रममा उहाँ आउनुहुन्थ्यो। प्रमुख अतिथि बन्नुहुन्थ्यो। उहाँप्रति आदर थियो तर हामीबीच ठट्टा हुन्थ्यो। एक पटक मलाई सम्मान गर्न आयोजना गरिएको एउटा कार्यक्रममा चियाखाने बेला गफगाफ चलिरहँदा मैले भने, ‘माड्सा’प तपाईंको माधवी उपन्यास साह्रै राम्रो छ। यसलाई नेपालीमा अनुवाद गरौं। यो विश्वप्रसिद्ध हुन्छ।’
उहाँले रमाइलो मान्नुभयो र मुस्कुराउनु भयो। यही प्रसंग पछि देवेन्द्र भट्टराईले कान्तिपुरमा पनि लेख्नु भएको छ। तर त्यो कुनै उहाँप्रतिको अनादार थिएन। आत्मीय आदरसहितको ठट्टा थियो। मैले यसो भन्नुका पछाडि केही कारणहरु थिए। माधवी उपन्यास धेरै उत्कृष्ट हो। धेरै क्लिष्ट पनि हो। नेपालका नाम चलेका पढ्ने भनिएकाहरुलाई समेत छिचोल्न गाह्रो छ। धेरैले शब्दकोष साथै राखेर कठिनाइका साथ पढेको सुनाउँछन्।
म स्वयं संस्कृत पढ्ने परिवार हुर्किएको हुँ। त्यसैले मैले शब्दकोष नहेरिकनै पढेँ। शब्दकोष हेरेर पढ्ने बानी मेरो छैन पनि। नबुझे दुई–तीन पटक पढ्छु तर शब्दकोष हेर्दिनँ। अरुहरुको कुरा सुनेर मलाई माधवी शुरु गर्दा सकस होला कि जस्तो भएको थियो। महाभारतका मिथकहरुमाथि भारतीयहरुले पनि लेखेका छन्। भिष्म सहानीले माधवी लेख्नु भएको छ। मलयालम कवि एमटी बासुदेवन नायरले पनि लेख्नु भएको छ। त्यसमा संस्कृत शब्द भए पनि साह्रै सरल छ। माधवी निकै उचाइ भएको कृति हो। त्यस्तो किताब कमै मात्रै लेखिन्छ। त्यसलाई पनि सरल बनाउन सके धेरैले पढ्थे भन्ने मेरो बुझाइ हो।
नरम उहाँ र उग्र म
मदनमणि दीक्षित पत्रकारिता तथा राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो। हामीसँगै पञ्चायत विरोधी क्याम्पमै थियौँ। मार्क्सवादी दर्शनलाई स्वीकारे पनि हाम्रा क्याम्प फरक–फरक थिए। उहाँ सोभियत धुरीमा केशरजंग रायमाझीतर्फ हुनुहुन्थ्यो। हामी त्यो धारलाई बिर्सजनवादी र संशोधनवादी भन्थ्यौं। हाम्रो धार भनेको तत्कालै बन्दुक बोकेर हिँड्ने पक्ष थियो तर पनि हामी नजिकै थियौं।
उहाँका लेखहरु धेरै पहिलेदेखि पढ्दै आए पनि भेट र संगत भने २०३६ साल पछि भएको हो। मूलपानीकै भए पनि त्योभन्दा अघि मेरो काठमाडाैं सहरसँग खासै पहुँच थिएन। त्यतिबेला सहर कलेज पढ्न आउने हो। साहित्यिक वृत्तमा चिनिने भएपछि उहाँसँग भेट भयो। म समीक्षा साप्ताहिकको कार्यालयमै गएर भेटघाट गर्थें।
२०३८ सालमा भएको तत्कालीन राष्ट्रिय पञ्चायतको चुनावमा उहाँ काठमाडौंबाट उम्मेदवार हुनु भएको थियो। त्यतिबेला काठमाडौं जिल्लाबाट बढी मत ल्याउने २ जना राष्ट्रिय पञ्चायतमा निर्वाचित हुन्थे। नानीमैयाँ दाहाल र जोगमेहर श्रेष्ठले त्यो बेला चुनाव जिते। उहाँले चुनावमा ठ्याक्कै कति भोट ल्याउनु भयो अहिले सम्झिन सक्दिनँ तर जमानत जफत भएको थियो। म भने चुनाव बहिस्कारको पर्चा बाँडेर हिँडेको थिए। मलाई खासै मानिसले चिन्दैनथे। पछि जोगमेहरले आफ्नो विरोधी तह लगाउन त्यही पर्चा प्रयोग गरे। पर्चा बाँडेको भन्दै बिरोधीलाई पुलिस लगाएर पक्राए।
स्त्री नाममा शीर्षक
पूर्वीया दर्शनमा उहाँका गजबको पकड थियो। महिला र पुरूषबीच समानताका लागि लेख्नुहुन्थ्यो। घरमा समेत उहाँले त्यो लागू गर्नुभएको थियो। पत्नीको नाम अर्कै भए पनि ‘देवीजी’ भनेर बोलाउनुहुन्थ्यो।
वैदिक युगका विषयलाई आजको सन्दर्भमा ढालेर लेख्नुहुन्थ्यो। बालकृष्ण समको ‘नियमित आकस्मिकता’ एउटा उत्कृष्ट कृति हो। तर समले उपनिषद पूरै नपढी त्यो पुस्तक लेखेको भन्ने उहाँको टिप्पणी रह्यो। उहाँमा त्यो तहको गहन अध्ययन र टिप्पणी गर्नसक्ने क्षमता थियो।
उहाँका धेरै कृतिहरुको शीर्षक स्त्री पात्रबाट राखिएका छन्। तीमध्ये ‘द्रौपती र सीता’ मलाई निकै मनपर्छ। ‘ग्याँस च्याम्बरको मृत्यु’, ‘त्रिदेवी’ पनि राम्रो लाग्छ। उहाँ तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानको उप कुलपति पनि हुनुभयो। त्यहाँको कार्यकाल सकेर फर्किंदा उहाँले आफ्नो ‘रचनात्मक अवसान’ भनेर टिप्पणी गर्नुभएको थियो। प्रज्ञा प्रतिष्ठानलाई सोचेअनुसार सुधार गर्न नसक्दाको निरासा थियो।