(२०७३ साल माघ ४ गते अनलाइनखबरमा मदनमणि दीक्षितको संस्मरण प्रकाशित भएको थियो । आज उनको निधनका दिन सान्दर्भिक हुने ठानेर सो संस्मरण अर्काइभबाट पुनः प्रकाशित गरिएको छ- सं.)
मैले ०१६ सालमा ‘समीक्षा’ पत्रिका निकाल्न सुरु गरेको थिएँ । त्यसको एक वर्षपछि पञ्चायती व्यवस्था आएसँगै दुःखका दिनहरु सुरु भइहाले ।
०१७ सालमा ‘समीक्षा’सहित सात वटा अखबारलाई प्रतिबन्ध लगाइएको थियो ।
मलाई लाग्छ, त्यसबेला राजालाई पनि पञ्चायत व्यवस्था के हो र कसरी चलाउनुपर्छ भन्ने विषयको जानकारी र अनुभव थिएन । यसैले जथाभावी रुपमा पत्रिका बन्द गर्ने र मान्छे पक्रने काम भइरहेको थियो ।
पत्रकारिता यात्राको क्रममा म पनि नौ महिनासम्म जेल परेँ । एक पटक लगातार सात महिना र त्यसपछि दुई-चार दिन गर्दै चार-पाँच पटक पक्राउ गरियो ।
मलाई खोज्न धानको भकारी समेत फोडेछन्
मलाई खासगरी विश्वबन्धु थापाले बढी दुःख दिए ।
त्यसबेला विश्वबन्धु गृहमन्त्री थिए । ०१७ सालको चैतमा उनले आफ्ना दूतहरु परिचालन गर्दै मदनमणि जहाँ भए पनि पक्रेर ल्याऊ भनेर आदेश दिएछन् ।
मलाई किन पत्रिका बन्द गर्ने पुर्जी पठाइयो भनेर सोध्न म अञ्चलाधीशकहाँ गएको थिएँ । राजा महेन्द्रका सचिवले मलाई खोजेका रहेछन् । यसै क्रममा मेरो भाइ महेशमणि आयो । उसले भन्यो, ‘भोलाप्रसाद जोशी भन्ने दरबारका मान्छेबाटै खबर आएको छ, तपाईं भूमिगत बस्नुस् रे । पक्राउ नपर्नू रे ।’
दरबारको आशय के रहेछ भने, पञ्चायत व्यवस्थाले पार्टीहरुमाथि प्रतिबन्ध लगायो, अब अखबारहरु पनि बन्द गर्न थाल्यो । पत्रकार पक्राउ गर्न थाल्यो । यसले पञ्चायती व्यवस्थाको त झन् बदनामी हुन्छ ।
त्यसैले मलाई पक्राउ नपर्नू भनेर भन्न पठाइएको थियो ।
अञ्चलाधीशको कार्यालयबाट निस्किएँ । त्यसबेला न्युरोडको प्युखा टोलमा बस्थेँ । त्यहाँ मेरो नाता पर्ने दुई जना विधवाको घरमा डेरा गरी बस्थेँ । त्यता नगई म इन्द्रचौकमा एउटा मुसलमानको घरमा भूमिगत भएँ ।
उता विश्वबन्धुले जसरी भए पनि मदनमणिलाई पक्रिनु भन्ने आदेश पाएका मान्छेहरुले धुइँधुइँती खोजिरहेका थिए । मलाई खोज्ने नाममा प्युखा टोलमा म बसेको घरमा भाँडभैलो गरेछन् । घरको बुइँगलमा धान राखेको ठूलो भकारी थियो । धान सुरक्षित राख्न माथिबाट गोबरको पत्रले छोपिएको थियो ।
म त्यहाँ लुकेको छु कि भनेर भकारी समेत फोडेर खोजेछन् । त्यो त पागलपनको पराकाष्ठा नै थियो । उनीहरुले त्यो घरमा सबै भताभुंग पारिदिएछन् ।
राजाबाट आममाफी घोषणा भइसक्दा पक्राउ परेँ
भूमिगत अवस्थामा बसिरहँदा अब अञ्चलाधीशकहाँ जान्छु भन्ने सोच बनाइरहेको थिएँ । त्यसै क्रममा राजा महेन्द्रले ०१८ साल असार १ गते आममाफी घोषणा गरेका थिए । त्यो घोषणा भएपछि मैले अञ्चलाधीशकहाँ जाने कुरा भएन ।
म लुक्न छाडेर भोलिपल्टदेखि नै बाहिर निस्किन थालेँ । म सडकमा हिँडिरहेको कतैबाट विश्वबन्धुले थाहा पाएछन् । उनले अञ्चलाधीश विश्वमणि आचार्यलाई फोन गरेछन्, ‘मदनमणि सडकमा देखा परिराखेको छ, उसलाई तुरुन्तै पक्राउ गर्नू ।’
अञ्चलाधीशले जवाफ दिए, ‘सरकारबाट हिजो भर्खर आममाफी घोषणा भएको छ, मैले कसरी पक्राउ गर्ने ?
विश्वबन्धुले भनेछन्, ‘त्यसो भए सरकारको कारणबाट मैले पक्राउ गर्न सकिनँ भनेर लेखेर पठाउनू मलाई ।’
त्यसपछि म खुला रुपमै सामान्य दिनहरु गुजार्न थालेँ । त्यसको तीन महिनापछि असोज महिनाको एकदिन न्युरोडतिर टहलिँदै थिएँ । मसँग एक जना साथी पनि थिए । हिँड्दै गर्दा एक जना मान्छेले च्याप्प मेरो दाहिने हात समात्दै ‘तपाईं मदनमणि आचार्य दीक्षित होइन’ भनेर सोध्यो । मैले ‘हो’ भनेँ ।