वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको बिहीबार बिहान निधन भएको छ। चर्चित कृति ‘माधवी’ उपन्यासका स्रष्टा दीक्षितका वैदिक वाङमयमा आधारित तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन्। साहित्यबाहेक नेपाली पत्रकारितामा पनि उनको विशिष्ट योगदान थियो। २०१४ सालदेखि पत्रकारिता थालेका दीक्षितले ३९ वर्षसम्म सक्रिय पत्रकारितामा आफूलाई भिजाएका थिए। उनको सम्पादनमा प्रकाशित ‘समीक्षा’ पञ्चायतकालभरि शासकहरूको बक्रदृष्टिमा परेको थियो। यो पत्रिका समाचारका साथै विचार र विश्लेषणयुक्त समाचारपत्रको श्रेणीमा दरिएको थियो। ‘समीक्षा’मा प्रकाशित सामग्रीहरूको आधारमा तत्कालीन प्रशासकले पटक–पटक बयान लिने र प्रतिबन्धसमेत लगाउने, प्रतिबन्ध फुकुवा गर्न दौडधुप गर्नुपर्नेजस्ता तीता यथार्थ दीक्षितले झेलेका थिए। 'अन्नपूर्ण टुडे' म्यागेजिनका लागि विवश वस्तीले २०७४ कात्तिकमा उनको पत्रकारिताका विभिन्न पाटोबारे कुराकानी गरेका थिए। प्रस्तुत छ उक्त अन्तर्वार्ताः
‘समीक्षा’ साप्ताहिकको प्रकाशन थाल्नुपूर्व तपाईं ‘हालखबर’को प्रधानसम्पादकको जिम्मेवारीमा हुनुहुन्थ्यो। किन ‘हालखबर’ छाडेर ‘समीक्षा’ निकाल्न थाल्नुभयो ?
तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला चीन भ्रमणमा जाँदा उहाँसँगै ‘हालखबर’बाट पनि पत्रकार जाने भन्ने टुंगो भयो। तर, चीन भ्रमणका लागि पत्रकार पठाउने सन्दर्भमा ‘हालखबर’ले आफ्नो पारिवारिक नातागोतालाई रोज्न पुग्यो। ‘हालखबर’को प्रधानसम्पादकको हैसियतले मैले आफू अपमानित भएको महसुस गरेँ। त्यसैले, सो पदमा रहन उपयुक्त ठानिनँ र राजीनामा दिएँ। सोबाहेक ‘समीक्षा’मा पूर्ण निजी विचार प्रस्तुत गर्न सकिन्छ भन्ने लाग्यो र त्यसको प्रकाशन प्रारम्भ गरेँ।
‘समीक्षा’को प्रकाशन विशुद्ध पत्रकारिता गर्ने उद्देश्यले शुरुवात भएको थियो कि तत्कालीन व्यवस्थाका कमजोर पक्षहरूलाई उधिनेर जनसमक्ष ल्याउने उद्देश्यले बढी प्रेरित थियो ?
विशुद्ध पत्रकारिता भनेको के हो, यसबारे मैले आजसम्म बुझेको छैन।
तपाईं पहिला वामपन्थी राजनीतिप्रति निकट हुनुहुन्थ्यो। तर, ‘समीक्षा’ प्रकाशनका वेला वामपन्थी राजनीतिप्रति तपाईंको मोह टुटिसकेको थियो भनिन्छ। कारण के थियो ?
सन १९४७ देखि म कार्ल मार्क्स, भ्लादिमिर इल्यिच लेनिनको विचारबाट प्रभावित रहेँ र सन १९४८ मा मैले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएँ। तर, २०४१ सालमा मैले कम्युनिस्ट पार्टी छाडेँ। तर पनि आजसम्म कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवादमाथिको केही अंशमा अझैं पनि विश्वास गर्छु।