युवा उमेरदेखि नै उनको सक्रियता समाजसेवामा रह्यो । त्यसैले समाजसँगै माटोको सुगन्धमा उनी सँधै रमाए । जग्गा जमीनमा कुन समयमा के उत्पादन गर्ने भन्ने विषयमा सदैव ध्यान दिँदै आएका उनले आफ्नो युवाकालको उर्जाशील अवधि गाउँ र गाउँबासीको सेवामै लगाए ।
उनका तीन छोराहरू अस्ट्रेलियामा थिए । उनी र उनकी धर्मपत्नी गाउँमा नै थिए । छोराहरूले उनलाई भने कति काम गर्नुहुन्छ । अब यतै आउनुस् । आराम गर्नुस् ।
उनी अस्ट्रेलिया पुगे, तर त्यहाँ पनि यत्तिकै बस्न मनलागेन । त्यसैले उनले त्यहीको एउटा कलेजमा योग शिक्षा सञ्चालन गरे । उनी योग सिकाउन थाले ।
केही वर्ष अस्ट्रेलिया बसेका उनले त्यही स्थायीरुपमा बस्न पाउने गरी पीआर पनि लिए । पीआर लिए बापत उनले जेष्ठ नागरिकका हैसियतमा निश्चित रकम मासिकरुपमा पाउँथे ।
आफ्नो थातथलो सप्तरी जिल्लामा बसेर समाजसेवा गर्दैआएका समाजसेवी काशीनाथ जोशी आइतबार साँझ पेप्सीकोला खहरेमा भेटिए । उनीसँग करिब एक घण्टा कुराकानी भयो ।
कुराकानीका क्रममा उनी भन्दैथिए, “त्यहाँ पनि म खाली बसिन । केही न केही गरिरहेँ । त्यसो त मलाई मासिक १ हजार १ सय डलर दिइन्थ्यो । तर एकदिन मलाई लाग्यो, हैन मैले मेरो माटो मेरो भूमिकै लागि केही गर्नुपर्छ । त्यसपछि मैले अस्ट्रेलिया छोडेँ र सप्तरीको आफ्नै गाउँमा आएर समाजकै लागि काम गर्न थालेँ ।”
उनी अस्ट्रलियामै थिए । एक दिन केही सिख्ख मित्रहरूले काशीनाथ जोशीलाई त्यहाँस्थित गुरुद्वारा लिएर गए । ति सिख्खहरूले ‘चलिए, आपको गुरु नानकके दरबारमे ले जाउङ्गा’ भन्दै त्यहाँ पु¥याए ।
ब्लेनउड नाम गरेको ठाउँमा सिक्खहरूले विशाल मन्दिर बनाएका रहेछन् । उनी मन्दिरमा पुगे । गएर शीर निहुराए । जसै उनले दर्शनका लागि टाउको निहुराए, उनलाई लाग्यो ‘हैन, गुरु नानकको पाइला परेको स्थान त मेरै गाउँ छेउमै छ, भेडियामठ । म किन यहाँ दर्शनका लागि आइरहेको छु !’
समाजसेवी जोशीका अनुसार मल्लकालिन समयमा भेडियामठ भन्ने स्थानमा पनि गुरु नानक नै पुगेको मानिन्छ । त्यहीँ उहाँले गुरुग्रन्थ पनि लेख्नु भएको भन्ने भनाइ छ ।
उनका अनुसार बिरामी मल्ल राजालाई निको तुल्याए बापत गुरु नानकलाई आश्रम निर्माणका लागि भेडियामठमा ३६५ विघा जमिन दिइएको थियो रे ।