कृष्ण खड्कालाई गीत गाउन मनपर्छ। साथीहरू भेला भएर नाच्न झन् रमाइलो। ३१ वर्षीय कृष्णलाई घुम्न पनि मनपर्छ। हृष्टपुष्ट छन्। जोशजाँगर उत्तिकै। बोल्न पनि खप्पिस।
तर मन लागेका धेरै कामकुरा गर्न सक्दैनन् उनी।
भोक लागेको पत्तो हुँदैन। खाना-खाजा तालिकाअनुसार अरूले खुवाइदिन्छन्। कहिलेकाहीँ जिब्रोको स्वादले लोभ्याउँछ। अघाएँ कि पेटमा अझै अट्छ थाहा पाउँदैनन्।
कसैले मायाले सुम्सुम्यायो वा रिसले चिमट्यो, हेक्का हुँदैन। मुख धोइदिनेदेखि लुगा लगाइनेसम्म अरूकै भर। कृष्ण न आफ्नो शरीर चलाउन सक्छन्, न वर्षौंदेखि चल्मलाउन नसकेको जीउको दुखाइ महशुस गर्छन्।
विगत नौ वर्षदेखि उनी यस्तै समस्यासँग जुधिरहेका छन्। उनको घाँटीभन्दा तलको भाग चल्दैन। मेरूदण्ड पक्षघात भएको छ।
'घाँटीभन्दा तलको भागमा केही अनुभव हुँदैन,' उनले भने।
२०४५ साल, माघमा पाल्पाको खस्यौलीमा जन्मेका कृष्ण कान्छा छोरा। सबैको मायाले पुल्पुलिएका। खान-लाउन दु:ख थिएन। कक्षा ११ पढ्दै गर्दा बुबा गुमाए, पीडा भोगे। दुखी मन बोकेर पढ्न सकेनन्।
साथीभाइ विदेश गएर कमाएको देखे। उनीहरूको 'आधुनिक' जीवन देखे। विदेश जाने रहर लाग्यो।
'१८ वर्षमै धन कमाउने आशामा मलेसिया उडेँ,' कृष्णले पुराना दिन सम्झिँदै भने।
उनी तीन वर्षका लागि गएका थिए। चार वर्षसम्म फिरेनन्। घर फर्कने सोच नबनाएका होइनन्। छिट्टै गाउँघर जाने, साथीभाइसँग भेटघाट गर्ने, विदेशमा भएका रमाइला घटना सुनाउने। तर उतै रमाइलो लागिरह्यो। राम्रो काम र दाममै भुलिए।
अनि आयो कृष्णको जीवनकै 'कालो दिन'- २०६७ साल, मंसिर २१ गते।
उनी बिहान शारीरिक व्यायाम गर्दै थिए। सधैंझैं खुट्टा माथि, टाउको तल राखेर अडिए। अचानक शरीरको सन्तुलन बिग्रियो।
'दिनकै गर्थेँ, त्यो दिन बिग्रियो। त्यस्तो बेस्सरी लडेको पनि थिइनँ। अस्पताल पुगेर डाक्टरसँग कुरा गरेकोसम्म याद छ,' उनले सम्झिए।
त्यस दिन ढलेका कृष्ण उठ्न नसक्ने गरी कोमामा गए। मेरुदण्ड पक्षघात भएकाले शरीर चल्थेन। घाँटीमा प्वाल बनाएर खानाको पाइप राखियो। तीन महिनापछि होसमा आए। न बोल्न सक्थे, न चलमलाउन। उनलाई जीवन दिक्दार लाग्यो।
'म सुन्न सक्थेँ तर बोली थिएन। पानी खानुपर्यो भने इशारा गर्थें, कसैले बुझ्थेनन्,' उनले सुनाए, 'पछि बल्ल आवाज आयो र म यत्तिको भएँ।'
स्वर खुलेपछि उनलाई जीवनप्रति पनि आश जाग्यो।