सन् २०२८ को ओलम्पिकमा क्रिकेटलाई समावेश गर्ने आइसिसीको तयारी

Agency

सन् २०२८ मा अमेरिकाको लस एञ्जलसमा आयोजना हुने ओलम्पिकमा क्रिकेटलाई समावेश गराउने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले प्रयास सुरु गर्ने भएको छ।

मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) का अध्यक्ष माइक गेटिङले यसको जानकारी दिँदै ४–४ वर्षमा आयोजना हुने ओलम्पिकमा क्रिकेटलाई समावेश गराउन अफ्ठेरो नहुने बताए।

आइसिसीका नवनियुक्त कार्यकारी अधिकारी मनु स्वाहनेको भनाई उल्लेख गर्दै गेटिङले भने, ‘ओलम्पिक आयोजनाको समयावधि करिब दुई साताको हुन्छ। त्यसैले मलाई लाग्छ, आइसिसीलाई ओलम्पिकमा क्रिकेट समावेश गर्न कुनै अफ्ठेरो पर्दैन। ४ वर्षमा एक पल्ट दुई साताका लागि तालिका बनाउनु पर्ने मात्र हो।’

बेलायतबाट प्रकाशित एक वेभसाइटले गेटिङको भनाई उल्लेख गर्दै भनेको छ, ‘हामी मनु स्वाहनेसँग कुरा गर्देछौं। उनलाई लागेको छ, क्रिकेटलाई २०२८ ओलम्पिकमा समावेश गर्न सकिन्छ। यसका लागि उनी तयारीमा जुटेका छन्। विश्वस्तरमा क्रिकेटका लागि यो महत्वपूर्ण कार्य हुनेछ।’

बेलायतमा २०२२ मा आयोजना हुने कमनवेल्ट खेलका लागि महिला टि–२० खेल समावेश गरिएको छ। २२ औं कमनवेल्थ गेम्स सन् २०२२ को २७ जुलाईदेखि ७ अगस्टसम्म बर्मिङ्घममा आयोजना हुँदैछ।

कमनवेल्थमा पहिलो पल्ट सन् १९९८ मा क्रिकेटलाई समावेश गरिएको थियो।

प्रकाशित मिति: : 2019-08-13 18:08:44

प्रतिकृया दिनुहोस्