भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अब ‘सेकेन्ड हयान्ड’ गाडीको व्यवसाय गर्ने भएका छन्। उनले अनलाइन फर्म ‘कार्स २४’ मा हालै लगानी गरेका छन्। मंगलबार कम्पनीले कम्पनकिो सद्भावना दूत भएबापत केही सेयर प्रदान गरिएको बतायो।
उनले कम्पनीमा थप कति लगानी गरेका छन्? यसको जानकारी दिइएको छैन। धोनी हाल कश्मिरमा छन्। उनी भारतीय सेनाका मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् भने कश्मिरमा उनी हाल खटिएका छन्। उनी १५ अगस्टसम्म कश्मिरमै रहनेछन्।
‘कार्स२४’ का सह–संस्थापक विक्रम चोपडाले धोनीको क्षमता लगातार विकसित हुँदै आएको र उनी समाधान खोज्ने खेलाडी भएको हुनाले उनीसँग जोडिदा कम्पनीलाई फाइदा पुग्ने बताए।
यो कम्पनी ४ वर्षअघि स्थापना भएको थियो। अहिले यो भारतमा अनलाइनबाट सर्वाधिक गाडी खरिद बिक्री हुने कम्पनी हो।