यस्तो छ एकदिवसीय विश्वकप २०२३ छनोटको रोडम्याप

तस्बिरः एजेन्सी

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले रोडम्याप सार्वजनिक गरेको छ।आईसीसीको पहिलो रोडम्याप अनुसार सुपर लिगमा १२ टेष्ट राष्ट्र र नेदरल्यान्ड्स गरि कुल १३ देशबीच प्रतिस्पर्धा हुनेछ।

सन् २०२० मे देखि २ वर्ष सम्म चल्ने द्विपक्षीय सिरिजमा प्रत्येक टोलीले २४ ओडीआई खेल खेल्ने छन् । कुल १ सय ५६ ओडीआई खेल हुनेछन्।

सन् २०२२ सम्म भारत बाहेक शीर्ष ७ मा रहने सुपर लिगका टोली सोझै विश्वकपमा पुग्नेछन्। बाँकी पाँच टोलीले २०२२ मा हुने विश्वकप छनोट खेल्नुपर्ने हुन्छ।

भारत घरेलु टोली भएको हुँदा स्वतः छनोट हुनेछ।

आइसिसिका अनुसार नेदरल्यान्ड्सले सन् २०१५– १७ को च्याम्पियनसिप लिग विजेता भएकाले सोझै सुपर लिग खेल्न पाएको हो।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ७ एसोसिएट सदस्य राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ। आईसीसीको वान डे वरीयतामा १४–२० सम्म रहेका नेपाल, ओमान, नामिविया, पपुवान्युगिनी, स्कटल्यान्ड, यूएई र अमेरिकाबीच लिग अन्तर्गत २१ त्रिकोणात्मक सिरिज हुने छन्।

करिब साढे दुई वर्षसम्म चल्ने प्रतियोगितामा प्रत्येक राष्ट्रले होम र अवे गरि कुल ३६ ओडीआई खेल्ने छन्। यहाँ कुल १ सय २७ वान डे खेल हुनेछ।

आगामी १४ अगष्ट देखि २१ सम्म ओमान, स्कटल्यान्ड र पपुवा न्युगिनिबीच त्रिकोणात्मक सिरिज हुँदै यसको सुरुवात हुँदै छ।

नेपालले पहिलो विश्वकप लिग २ अन्तर्गत आगामी माघमा घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्दै सुरुवात गर्ने छ।

प्रतियोगिताबाट शीर्ष तीन टोली सन् २०२२ मा हुने आईसीसी विश्वकप क्वालिफायरको लागि छनोट हुनेछन्। पुछारका चार टोलीले विश्वकप छनोट प्ले अफ खेल्ने छन्।

त्यस्तै अन्य १२ एसोसियट अर्थात वान डे मान्यता नपाएका देशलाई पनि विश्वकप खेल्ने मौका छ। दुई समूहमा विभाजन गरेर ती देशबीच च्यालेन्जेज लिग हुनेछ।

समूह ए मा क्यानडा, डेनमार्क, मलेसिया, कतार, सिंगापुर र भानुआटु रहेका छन् । त्यस्तै समूह बी मा बर्मुडा, हङकङ, इटाली, जर्सी, केन्या र युगान्डा छन् ।

यसमा कुल ९० लिष्ट ए खेल हुने छ । एक टोलीले १५ खेल खेल्ने छन् ।

आगामी सेप्टेम्बरदेखि सुरु हुने यस च्यालेन्जेज लिग साढे दुई वर्षसम्म चल्नेछ।

जसमा समूह ए र बी का विजेता टोली २०२२ मा हुने विश्वकप छनोट प्ले अफमा स्थान बनाउने छन्। जसमा आईसीसी विश्वकप लिग २ मा पुछारमा रहेका ४ टोलीसँग प्रतिस्पर्धा गनुपर्ने हुन्छ। त्यस्तै समूह ए र बी मा दोस्रो स्थानमा रहेका एक-एक टोलीले च्यालेन्ज प्ले अफ खेल्न पाउनेछन्।

सुपर लिगबाट शीर्ष ७ टोली, घरेलु टोली भारत स्वत छनोट हुँदा विश्वकप छनोटबाट २ टोली गरि कुल १० देशले सन् २०२३ मा एक दिवसीय विश्वकप खेल्नेछन्।

प्रकाशित मिति: : 2019-08-13 08:12:07

प्रतिकृया दिनुहोस्