श्रीनेहा पोखरेल २५ वर्षकी भइन्। अविवाहित छन्। तत्काल बिहे गरिहाल्ने सोच पनि छैन उनको।
तर उनी ४५ जनाकी 'आमा' हुन्।
दस जना साना नानीबाबु र ३५ जना अधवैंशे महिलाहरूले उनलाई 'आमा' भन्छन्।
कुसुन्ती हाइटस्थित 'नेपाल स्नेही काख' की सह–सञ्चालक श्रीनेहाले बाटोमा अलपत्र भेटिएका मानसिक रोगीहरूलाई साहारा दिँदै आएकी छन्। उनको माया र स्नेहकै करण उद्धार भएका केटाकेटी र उनकै आमा उमेरका महिला पनि श्रीनेहालाई आमा भनेर बोलाउँछन्।
आफ्नो करिअर र आर्थिक अवस्था बलियो बनाउन लागि पर्ने उमेरमा श्रीनेहा भने बिरामी र बालबच्चाको उद्धारमा हिँडिरहेकी छिन्। आफ्नो जीवन उनीहरूकै सेवामा समर्पित गर्ने सोच छ उनको।
भन्छिन्, 'यो उमेरमै म धेरैकी आमा भएकी छु। आमा भनेको विश्वास हो। म उहाँहरूको विश्वास डगमगाउन दिन्नँ।'
श्रीनेहाले १६ वर्षको उमेरमै यो संस्था खोलेकी हुन्। १४ वर्षदेखि नै समाजसेवामा लागेको बताउँछिन्। मध्यम वर्गीय परिवारमा हुर्केकी श्रीनेहा सानैदेखि आफ्नी आमाको कामबाट प्रभावित थिइन्। दुखीलाई मद्दत गर्ने र आफूले वरिपरि देखेका समस्या सल्टाउने काम गरिरहेकै हुन्थिन्।
'मेरो आमा समाजसेवी हुनुहुन्थ्यो। उहाँले गर्नुभएको काम देखेर ममा पनि सहयोगको भावना जाग्थ्यो,' उनले भनिन्, 'आमाकै कारण म सामाजिक कार्यमा सक्रिय थिएँ।'
किशोरावस्थामै आमाको काम पछ्याउँदै आए पनि उनको जीवनको पहिलो उद्धेश्य यो थिएन। मोडलिङको 'भूत' चढेको थियो उनलाई। राम्रो कपडा लगाउने, चिटिक्क परेर हिँड्ने खुब सोख राख्थिन्। त्यो रहर पूरा गर्न उनले केही सुन्दरी प्रतियोगितामा भाग लिइन्। उपाधि पनि जितिन्। यसले उनलाई मोडलिङ र नाटक क्षेत्रमा पनि अघि बढ्न हौसला मिल्यो।
उनको मन 'ग्ल्यामर' संसारमै झुम्मिएको थियो। मोडलिङमा नाम कमाउन अघि बढिरहेकी श्रीनेहाका निम्ति समाजसेवा वैकल्पिक क्षेत्र थियो।
एक दिन उनको जीवनमा 'टर्निङ प्वाइन्ट' आयो। र, यसको कारण थियो रवि (नाम परिवर्तन)सँगको भेट।
रवि मानसिक सन्तुलन गुमाएका व्यक्ति थिए। घरबार थिएन। बाटोमा अलपत्र अवस्थामा बसिरहेका उनलाई श्रीनेहाले आफ्नो घरनजिकै भेटाइन्। च्यातिएका लुगा, फोहोर कपाल, गन्हाउने ज्यान र बेहोसी दिमाग लिएर भौंतारिँदै हिँडेका रविनजिक कोही जान्थेन। 'दिमाग ठीक नभएको' मान्छेसामु जाने हिम्मत कसैको हुन्थेन।