झापाको व्यापारिक केन्द्र विर्तामोड नगरपालिकाको एक संयुक्त वडा कार्यालयमा बम बिस्फोट भएको छ । बम वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बिस्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले सोमबार बिहान साढे ४ बजे बम विस्फोट भएको बताएका छन् ।
उनका अनुसार बिस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेका छन् । कम्प्युटरसहितका उपकरण तथा कागजात नष्ट भएका छन् ।
प्रवक्ता श्रेष्ठले प्रेसर कुकर बम विस्फोट भएको हुन सक्ने आशंका रहेको बताउँदै सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
बम बिस्फोट कसले गराएको भन्ने यकिन नभए पनि यसमा विप्लव नेतृत्वको नेकपा संलग्नत हुन सक्ने आशंका गरिएको छ ।