नेयमारबिनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार सुरूवात गरेको छ। साविक विजेतासमेत रहेको पीएसजीले फ्रेन्च लिग वानको पहिलो खेलमा निम्सलाई ३–० गोल अन्तरले हराउँदै लिगमा विजयी सुरूवात गरेको हो।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीलाई जिताउन एडिन्सन काभनी, केलियन एमबाप्पे र एन्जल डि मारियाले एक-एक गोल गरे।
खेलको २४औ मिनेटमा काभनीको पेनाल्टी गोलबाट पीएसजीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो।
पाब्लो सारावियाको कर्नरमा पाब्लो मार्टिनेजले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा पीएसजीलाई पेनाल्टी प्रदान गरेको थियो।
५६ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए। ६९ औं मिनेटमा एन्जल डि मारियाले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई ३–० को सानदार जित दिलाए ।
पछिल्लो समय क्लबसँग असन्तुष्ट रहेको नेयमार उचित प्रस्ताव आएको खण्डमा क्लब छाड्ने मनस्थितिमा छन्। उनलाई बार्सिलोना र रियाल म्याड्रिडले चासो देखाइरहेको छन् ।