विराट कोहलीको कीर्तिमान

तस्बिरः एजेन्सी

भारतीय कप्तान विराट कोहलीले वेष्टइन्डिजविरूद्धको दोस्रो एक दिवसीय खेलमा कीर्तिमानी ब्याटिङ गरेका छन्।

कोहलीले आफ्नो वान डे करियरको ४२ औं शतक बनाउने क्रममा गएराति १२० रन जोडेका थिए। उनले १२५ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै कीर्तिमानी सतक प्रहार गरे।

कोहलीले करियरको ४२ औं शतक पुरा गर्ने क्रममा भारतीय पूर्व कप्तान सौरभ गांगुलीको रेकर्ड तोडेका छन्।

यो सँगै कोहली भारतको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सूचीमा गांगुलीलाई पछि छाड्दै दोस्रो स्थानमा उक्लेका छन्।

गांगुलीले कुल ३११ खेल खेल्दा ११ हजार ३ सय ६३ रन बनाएका थिए। १९९२ देखि २००७ सम्म गांगुलीले भारतको लागि खेल्ने क्रममा २२ शतक र ७२ अर्धशतक बनाएका थिए।

कोहलीले २३८ औं खेल खेल्ने क्रममा यो रेकर्ड बनाएका हुन्। २२९ इनिंङमा ब्याटिंग गर्दै कोहलीले ४२ शतक र ५४ अर्धशतकसहित ११ हजार ४ सय ६ रन बनाएका हुन्।

यस्तै कोहली वेस्टइन्डिज बिरुद्ध एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान समेत बनेका छन्। जाभेद मियायादले वेस्टइन्डिज बिरुद्ध १ हजार ९ सय ३० बनाएका थिए जसलाई आज कोहलीले उछिनेका हुन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा भारतको लागि र विश्वकै धेरै रन बनाउने ब्याट्सम्यान सचिन तेन्दुलकर हुन्।

सचिनले १९८९ देखि २०१२ सम्म भारतको लागि एकदिवसीय खेल्ने क्रममा ४६३ खेलबाट १८ हजार ४ सय २६ रन बनाएका थिए। जुन क्रममा ४९ शतक र ९६ अर्धशतक प्रहार गरेका थिए।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै रन बनाउने सूचीमा कोहली आठौं स्थानमा छन्।

सचिन पछि दोस्रो स्थानमा १४ हजार २ सय ३४ रन बनाएका श्रीलंकन ब्याट्सम्यान कुमार सांगाकारा रहेका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान

सचिन तेन्दुलकर – १८,४२६

कुमार साँगाकारा – १४,२३४

रिकी पोंटिङ – १३,७०४

सनथ जयसूर्या – १३,४३०

महेला जयवर्दने – १२,६५०

इन्जमाम उल हक – ११,७३९

ज्याक कालिस – ११,५७९

बिराट कोहली – ११,४०६

सौरभ गांगुली – ११,३६३

 

यो सतक पछि कोहली एकदिवसीयमा धेरै शतक बनाउने ब्याट्सम्यानको सूचीमा पनि दोस्रो स्थानमा छन्।

कोहलीले ४१ शतक र ५५ अर्धशतक बनाएका छन्। सबैभन्दा बढी सतक बनाउनेमा तेन्दुलकरले ४९ शतक बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने ब्याट्सम्यान :-

सचिन तेन्दुलकर – ४९ शतक

बिराट कोहली – ४२ शतक

रिकी पोन्टिङ – ३० शतक

सनथ जयसूर्या – २८ शतक

हसिम अमला – २७ शतक

रोहित शर्मा – २७ शतक

एबी डी भिल्लियर्स – २५ शतक

क्रिस गेल– २५ शतक

कुमार साँगाकारा – २५ शतक

यस्तै टेस्ट क्रिकेटमा कोहलीले ७७ खेलबाट ६ हजार ६ सय १३ रन बनाएका छन्। यस क्रममा उनले २५ शतक र ५० अर्धशतक बनाएका छन्।

यता टी-२० मा शतक प्रहार गर्न नसकेका कोहलीले ७० खेलबाट २ हजार ३ सय ६९ रन बनाएका छन्।

टेस्टमा ५३.७६ , एकदिवसीयमा ५९.७१ र टि-२० मा ४९.३५ को औशतले कोहली रन बनाईरहेका छन्।

प्रकाशित मिति: : 2019-08-12 08:12:54

प्रतिकृया दिनुहोस्