कोहली र भुवनेश्वर चम्किँदा, वेष्टइन्डिजमाथि भारतको सहज जित

तस्बिरः एजेन्सी

घरेलु टिम वेस्टइन्डिजलाई दोस्रो एकदिवसीयमा ५९ रन (डी/एल मेथड)ले हराउँदै भारतले ३ एकदिवसीयको सिरिज १-० ले अग्रता लिएको छ।

पहिलो एकदिवसीय वर्षाको कारण नतिजाविहिन भएको थियो। अब तेश्रो तथा निर्णायक एकदिवसीय आगामी २४ मा हुनेछ।

ट्रिनिडाडमा आइतबार राति सम्पन्न खेलमा पहिले ब्याटिङ गर्दै भारतले २७९ रन बनाएको थियो।

लक्ष्य पछ्याउने क्रममा दोस्रो इनिंगमा वर्षाले खेल अबरुद्ध हुँदा विन्डीजले ४६ ओभरमा २७० रनको लक्ष्य पाएको थियो। तर ४२ ओभर खेल्दै २१० रनमा घरेलु टिम समेटिएपछि भारतको सहज जित निस्किएको हो।

वेस्टइन्डिजको लागि ओपनर इभिन लुइसले सर्वाधिक ६५ तथा निकोलस पुरनले ४२ रन बनाउनुबाहेक अन्यले खास योगदान दिन सकेनन्।

पहिलो विकेटको लागि क्रिस गेलसँग लुइसले ४५ रनको साझेदारी गरे। वेस्टइन्डिजको लागि रेकर्ड ३०० औं खेल खेल्ने क्रममा गेलले २४ बलमा १ चौका मदतले ११ रन बनाए। भुवनेश्वर कुमारबाट एलबिडब्लु हुनु अघि गेलले ब्रायन लाराको रेकर्ड तोड्दै वेस्टइन्डिजको लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने।

लाराले २९९ खेलबाट १०,४०५ रन बनाएका थिए। गेलको ३०० खेलमा १०,४०८ रन पुगेको छ। यस क्रममा गेलले २५ शतक र ५३ अर्धशतक बनाएका छन्। लाराले १९ शतक र ६३ अर्धशतक बनाएका थिए।

पहिलो विकेट गुमेपछि शाइ होप ५ रन बनाएर खलिल एहमदबाट बोल्ड भए। शिमरन हेटमायर ( १८ ) र होपले तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरे।

हेटमायरलाई कुलदिप यादबले क्याच आउट गराएपछि निकोलस पुरनसँग लुइसले ५६ रनको साझेदारी गरे। लुइसलाई २८ औं ओभरमा कुलदिपले क्याच आउट गराए। त्यसपछि ४२ रन बनाएका पुरनलाई भुवनेश्वरले क्याच आउट गराए।

पुरनको विकेट जाँदा १७९/५ रहेको विन्डिजले त्यसपछि थप ३१ रन जोड्दा सबै विकेट गुमाउन पुग्यो। कप्तान जेसन होल्डरले अविजित १३ रन बनाए।

भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिँदा ८ ओभरमा ३१ रन खर्चिए।

मोहम्मद शामीले ८ ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए भने क्लदिप यादवले १० ओभरमा ५९ रन खर्चिएर २ विकेट लिए। खलिल एहमद र रभिन्द्र जडेजाले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७९ रन बनाएको थियो।

उसका लागि कप्तान बिराट कोहलीले सतकीय इनिङ्स खेले। उनले १२५ बलमा १४ चौका र १ छक्का प्रहार गर्दै आफ्नो ४२ औं सतक पुरा गरे।

श्रेयस ऐयरले ७१ रन बनाउने क्रममा ६८ बल खेल्दै ५ चौका र १ छक्का हिर्काए।

कोहली र ऐयरले चौथो विकेटको लागि १२५ रनको साझेदारी गरेका थिए।

विन्डिजका लागि कार्लोस ब्राथवेटले सर्वाधिक ३ विकेट लिएका थिए।

प्रकाशित मिति: : 2019-08-12 08:02:13

प्रतिकृया दिनुहोस्