१९९० सालको मुलुकी ऐन नेपालको पहिलो लिखित कानुन मानिन्छ। त्यसपछि वैधानिक कानुन २००४, वैयक्तिक स्वतन्त्रतासम्बन्धी ऐन २००६, अन्तरिम शासन विधान २००७ लगायत कानुन बने। तर यिनमा महिलामाथि हुने घरेलु हिंसा सम्बन्धी कानुन थिएन।
२०६६ सालमा घरेलु हिंसा ऐन आएपछि मात्रै हो, महिलामाथि हुने हिंसाबारे उजुरी गर्न र सजाय दिलाउन अलि सजिलो भएको।
तर यमकला पंगेनीले आफूमाथि भएको हिंसाको उजुरी गर्न ६६ सालसम्म पर्खिनन्। १९९५ सालमा जन्मेकी यमकलाले उ जमानामै मुखियाको दैलोमा गएर उजुरी दिएकी थिइन्।
ऋषिराम र खगिसरा खनालकी छोरी यमकला चितडाँडा, स्याङ्जामा जन्मिएकी हुन्। रजस्वाला नहुँदै यमकलाको बिहे आँधिघाट, स्याङ्जाका मित्रलाल पंगेनीसँग भएको भयो। मित्रलाल जजमानी गर्थे। घरमा सासूससुरा मात्र थिए। चार जनालाई खानबस्न पुग्दो।
तर 'बुहारी'ले सुखसँग बाँच्न पाउने समय थिएन त्यो।
सखारै उठेर घाँस-दाउरा गर्थिन्। टाढा पुगेर पानी ओसार्थिन् यमकला। खाने बेलामा भने सधैं सासूको आँखाको 'कसिंगर' हुने गरेको उनले बताइन्।
'सासूले खान नदिने मात्र होइन, हातै छाड्थिन्,' ८१ वर्षीया यमकलाले अतीत सम्झिँदै भनिन्।
सधैंको किचकिच र कुटाइ खाँदाखाँदा एक दिन यमकलाको सहनशक्तिले सीमा नाघ्यो।
'त्यो दिन मेरी छोरी भोकाएकी थिई। बारीबाट मकै ल्याएर पोल्न भनेर गोठमा गएकी थिएँ,' उनले सुनाइन्,'सासूले देखेपछि मकै खोसिन् र बलिरहेको अगुल्टोले मुखैमा झोस्न खोजिन्। सासूको हातबाट अगुल्टो तानेर फ्याँके। छोरी पिठ्यूँमा बोकेर मुखियाका घर गएर सबै सुनाएँ।'
आफ्ना श्रीमान मित्रलालले माया गर्ने भए पनि आमाको अगाडि केही बोल्न नसक्ने यमकला बताउँछिन्। उनले सासूले आफूमाथि गरेको अन्याय, अत्याचार र हिंसाकोविरूद्ध उजुरी दिइन्।
यमकलाको हिसाबमा यो २०२२ सालतिरको कुरा थियो। त्यसबखत उनका जेठा छोरा नौ वर्ष र छोरी चार वर्षका थिए।
उनको साहस र आँट सुनेर अचम्म मान्दै सोधेँ, 'त्यतिबेला कानुन थियो त, कुट्यो भने गएर उजुरी गर्ने?'