काठमाडौं । उत्तर कोरियामा बैंकको ‘सर्भर’ ह्याक गरेर पैसा ट्रान्सफर गरिएको चर्चासँगै नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाले साइबर हमला गर्दै विभिन्न मुलुकका बैंकहरुबाट दुई अर्ब डलर चोरेको आरोप लागेपछि नेपालमा पनि त्यसबारे सतर्कता अपनाइएको हो ।
नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रहरीले समेत आफ्नो बैंकिङ प्रणालीलाई सुरक्षित बनाउन आग्रह गरिसकेको छ । प्रहरी अधिकारीका अनुसार नेपालमा सन् २०१७ मा एक बैंकबाट ह्याक गरेर ४० करोड बढी रकम चोरी भएको थियो । चोरी भएको रकममध्ये धेरैजसो रकम फिर्तासमेत ल्याइएको थियो । सन् २०१७ यता नेपाली बैंकमा साइबर हमला भएको छैन ।
तर, प्रहरी अधिकारीका अनुसार नेपालका बैंक तथा वित्तीय संस्थाहरु साइबर हमलाको उच्च जोखिममा छन् । विश्वका विभिन्न देशमा भएका साइबर हमलामा उत्तर कोरियाली तथा नाइजेरियन मूलका नागरिकको संलग्नता बढी पाइएको प्रहरी अधिकारी बताउँछन् । उत्तर कोरियाली समूहले नेपालमा पनि जुनसुकै बेला आक्रमण गर्नसक्ने खतरा सुरक्षा अधिकारी औल्याउँछन् । उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर गरेर डलर जम्मा गर्न थालेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले दाबी गर्दै आएका छन् ।
उत्तर कोरियालाई डलरको अभाव भएपछि उसले योजनाअनुसार नै तालिमप्राप्त ह्याकरलाई विभिन्न देशमा पठाउँदै आएको बताइएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रमुख डीआईजी विकास श्रेष्ठ बैंक लगायत वित्तीय संस्थाहरुलाई साइबर हमलाबाट सुरक्षित रहन आग्रह गरेको बताउँछन् । श्रेष्ठले भने, ‘‘जनचेतना जगाउने र सचेत गराउने हाम्रो पाटो हो । कसैको सर्भर हामीले हेर्ने कुरा भएन । त्यसका लागि उनीहरुले नै दक्ष र विश्वासिलो जनशक्तिको व्यवस्थापन गर्नुपर्छ । सुरक्षित प्रविधि र सेक्युरिटी सिस्टम पनि बलियो बनाउन जरुरी छ ।’’
नेपालमा उत्तर कोरियाली ह्याकरको समूह सक्रिय रहेको सुरक्षा अधिकारी बताउँछन् । नेपालमा भिजिट भिसामा प्रवेश गर्ने उत्तर कोरियाली नागरिकले राजधानीकै विभिन्न स्थानमा डेरा गरेर बस्ने र लामो समयसम्म शंकास्पद गतिविधि गर्ने गरेको पाइएको प्रहरीका एक अधिकारीले बताए । नेपाल आएका उत्तर कोरियाली नागरिक चीनको बाटो हुँदै आफ्नो देश फर्किने गरेका छन् । उनीहरु के प्रयोजनले नेपाल आएका हुन्, त्यसको स्पष्ट विवरण नहुँदा समेत कठिनाइ भएको प्रहरी अधिकारीको भनाइ छ ।
साइबर सुरक्षाको हिसाबले नेपाल कमजोर मानिन्छ । जानकारहरुका अनुसार कमजोर प्रविधिमा कमजोर रहेको मुलुकमा साइबर आक्रमणको सम्भावना उच्च रहन्छ । यस्ता मुलुकमा भाइरस आक्रमण र सिस्टम ह्याकिङको सम्भावना उच्च रहन्छ ।