नेपालमा जलविद्युत र सिँचाइका लागि साना तथा मझौला बाँध निर्माण हुँदै आए पनि ठूला बाँध छैनन्। केही वर्षदेखि बहुउद्देश्यीय आयोजनाका लागि जलाशययुक्त बाँध बनाउने चर्चा चल्दैछ, जुन विकासका निम्ति अपरिहार्य छ।
ठूला जलाशययुक्त आयोजनाको आर्थिक र सामाजिक फाइदा धेरै हुन्छ। तर सुरक्षा व्यवस्थापन कमजोर भए तिनले निर्माण तथा सञ्चालन अवधिमा जोखिम ल्याउन सक्छन्।
गत वर्ष लाओसमा भएको दुर्घटना उदाहरण हो। 'जेपियन जेनाम नोए' जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको बाँध फुट्दा ३५ भन्दा बढीको मृत्यु भयो। सयौं बेपत्ता भए भने ६ हजारबढी घरबारविहीन भए। यसको असर कम्बोडियासम्म पुग्यो।
त्यस्तै यही वर्ष जनवरीमा ब्राजिलमा खानी उत्खनन गर्न बनाइएको बाँध भत्किँदा २५० जना बढीको ज्यान गयो।
यी घटनाले देखाउँछन्, सुरक्षा व्यवस्थापन कमजोर भए बाँधको जोखिम भयावह हुन्छ।
तर कार्यक्रम बनाएर लागू गर्न सकियो भने बाँध भत्किँदा हुने क्षति कम गर्न सकिन्छ। सुरक्षित बाँध निर्माण र सञ्चालन हुन सके देश, जनता र लगानीकर्ताले फाइदा लिनसक्नेमा शंका छैन।
हामी भर्खरै बाँध निर्माणको अध्ययनमा छौं। अहिले नै सुरक्षाबारे किन कुरा गर्ने भन्ने हुन सक्छ।
बुझ्नुपर्ने यहीँनिर छ- बाँध सुरक्षा अध्ययनकै चरणबाट विचार गर्नुपर्छ। बनिसकेपछि चर्चा गर्नु ढिलो हुन्छ। हाम्रो भौगोलिक अवस्था, विपदहरूको प्रकृति लगायत कारणले यो विषय अझ गहन रुपमा लिनुपर्ने अवस्था छ।
सामन्यतयाः बाँधको आयु सय वर्षभन्दा धेरै हुन्छ। उच्च भूकम्पीय जोखिम, चलायमान हिमालय, कमजोर र ठाडा पहाड, बाढी-पहिरो धेरै जाने क्षेत्रमा बाँध बढी जोखिमयुक्त हुन्छन्। नेपाल यस्तै क्षेत्र हो। हामीकहाँ ३०-४० वर्ष अन्तरालमा मझौला र ८०-१०० वर्षमा ठूलो भुइँचालो गएको देखिन्छ। अर्थात् यहाँका बाँधले केही माझौला र कम्तिमा एउटा ठूलो भुइँचालो सामना गर्नुपर्छ।
उच्च बाँधयुक्त ठूला जलाशयमा भुइँचालोको असर झनै बढी हुन्छ। खासगरी तेर्सो बहने भुइँचालोले जम्मा गरिएको पानीलाई गतिशील बनाएर बाँधमा थप बल लगाइदिन्छ, जोखिम अझै बढ्छ। २०७२ को भुइँचालोले हाम्रा मझौला बाँधहरू- माथिल्लो भोटेकोशी, सुनकोशी, कुलेखानी र माथिल्लो त्रिशुलीमा पनि सामान्य क्षति भएको थियो।