स्कुलिङ भनेको केवल सैद्धान्तिक कुरा पढाउने मात्रै होइन, त्यो त आचरण र जीवन पद्धतिलाई व्यवहारमा लागू गर्ने कुरा पनि हो । नेपालमा हामीले समीक्षा गर्नुपर्यो भने मोहनविक्रम स्कुल, निर्मल लामा स्कुल, मोहन वैद्य स्कुल, प्रचण्डको स्कुल, रोहितको स्कुल वा सीपी मैनाली लगायतका वामपन्थी स्कुल हेर्दा त्यो स्कुलबाट उत्पादित मान्छेले सैद्धान्तिक रूपमा कति विलक्षणका साथ आफ्ना कुरा राख्छन् भनेर मात्रै हेरिँदैन । कम्युनिस्ट स्कुलमा उसको आचरण कस्तो छ ? जीवन र यथार्थलाई बुझ्ने तरिका कस्तो छ ? सत्यसँग उसको साइनो कस्तो छ ? यस्ता तमाम कुरालाई पनि हेरिन्छ । पुराना सबै नेताहरुको स्कुलबाट उत्पादित विद्यार्थीको आजको स्थिति हेर्दा सबै, दोष उनीहरुलाई थुपार्ने कुरा त भएन । तर त्यसबाट केही त राम्रा मान्छे निस्किन पर्ने हो नि ? यसबारेमा चिन्तन मनन हुनु जरुरी छ । जस्तो हेगेलको स्कुलबाट माक्र्स निस्के । रुसमा प्लेखानोभहरुको मार्क्सिस्ट आधारहरुबाट लेनिनहरु निस्के ।
मन्त्र जप्नु मात्रै पढेको होइन
तपाईं के भन्नुहुन्छ, के पढाउनुहुन्छ भन्दा पनि के गर्नुहुन्छ ? त्यही कुरा मान्छेले पढ्छ । तपाईंले के पढ्नुहुन्छ, अर्कोले त्यही मन्त्र नअड्किई जप्यो भने त्यसलाई पढेको भनिदैन । मुख्य कुरा तपाईं कस्तो जीवन जिउनुहुन्छ भन्ने कुरा मुख्य हुन्छ ।
स्कुल विभागमा कसैलाई जिम्मेवारी दिँदा उसले ‘नैतिक मूल्य मान्यता’लाई कसरी लिएको छ, सिद्धान्तलाई कसरी बुझेको छ, यी तमाम चिजहरुलाई हेर्नुपर्ने हुन्छ ।
महत्वपूर्ण कुरा राजनीतिक कार्यदिशा
नेकपामा कस्तो स्कुल विभाग हुनुपर्छ भन्ने बारेमा ख्याल गर्नैपर्ने महत्त्वपूर्ण कुरा राजनीतिक कार्यदिशा हो । पार्टीले लिने आम राजनीतिक कार्यदिशा के हुन्छ ? त्यसले थुप्रै कुरालाई प्रभावित पार्छ । माओत्सेतुङ्ले यसलाई ‘जाल’ भन्नुभएको थियो । तपाईं जाल कस्तो फ्याँक्नु हुन्छ ? जालका प्वालहरु ठूलाठूला छन् भने मान्छा उम्केर जान्छन्, भ्यागुता पस्लान् । त्यसैले मुख्य कुरा पार्टीको आम राजनीतिक कार्यदिशा हो । हिजो दुई अलग अलग पार्टी भएको स्थितिमा दुईवटै पार्टीले अवलम्बन गरेका राजनीतिक कार्यदिशाको गम्भीर समीक्षा जरुरी छ ।