अस्ट्रेलियामा पढ्ने विदेशी विद्यार्थीको दुई चिजमा लत बसेको हुन्छ, चकलेट र कफी । अस्ट्रेलियामा होटेल म्यानेजमेन्ट पढ्दा मलाई पनि कफीको लत लाग्यो । कक्षामा निन्द्रा लाग्दा पनि कफी पिउँथेँ । बिस्तारै यो मेरो ‘प्यासन’ बन्दै गयो । त्यही प्यासनका कारण स्वदेश फर्केर कफी सप खोल्ने निष्कर्षमा पुगेँ ।
सन् १९९९ मा हिमालयन जाभा सुरू गर्दा नेपालमा ‘कफी कल्चर’ विकास भएको थिएन । सहरवासी चियामै रमाउँथे । चियाको देशमा हिमालयन जाभामार्फत कफी ‘सर्भ’ गर्न थालेँ । पाँच रुपैयाँको चिया खाने ग्राहकलाई ३५÷४० रुपैयाँको क्यापुचिनो टक्र्याउन थाल्यौँ । हामीले कफी सप सुरू गर्दा मान्छेले अनौठो मान्थे । अहिले काठमाडौं र ललितपुरका गल्ली–गल्लीमा झन्डै ११ सयवटा कफी सप खुलिसकेका छन् ।
काठमाडौं उपत्यकामा ३५ वटा तथा पोखरा, चितवन, मुस्ताङको जोमसोम र सोलुखुम्बुको नाम्चेमा हिमालयन जाभाका आउटलेट खोलिसक्यौँ । अमेरिकामा तीनवटा, क्यानाडा, भुटान, दार्जिलिङ, तिब्बत र थाइल्यान्डमा पनि हिमालयन जाभा पुगिसक्यो ।
दुई कक्षामा पढ्दै गर्दा ठूलो भएपछि होटेलमा काम गर्ने दिमागमा क्लिक भएको थियो । त्यतिवेलाको चाहना पूरा गर्नकै लागि अस्ट्रेलियामा होटेल म्यानेजमेन्ट पढेँ । धेरै युवा विदेश पढ्न गएपछि स्वदेश फर्किन चाहँदैनन् । तर, मलाई सुरुदेखि नै अस्ट्रेलिया बस्ने सोच पलाएन । उतै बस्न खोज्ने युवाले ममा भने स्वदेश नै फर्किनुपर्छ भन्ने सोचलाई बलियो बनाइदिए ।
नेपाल फर्किनेबित्तिकै चल्तीको होटेलमा काम सुरु गरेँ । तर, सात दिन पनि टिक्न सकिनँ । शायद आफूले काम गरेर फर्किएको ठाउँको स्ट्यान्डर्ड काठमाडौंको त्यस होटेलमा पाइनँ होला । त्यसपछि आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएँ । र, बजार अनुसन्धानमा लागेँ । अध्ययनबाट नेपालमा कफीको बजार तयार पार्न सकिन्छ भन्ने लाग्यो ।