सप्तकोशीको पुल सकिएर भारततर्फ पानी लगिएको नहरको बीचमा अलिकति खाली जमीन छ । पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फको सो जमिनमा करिब ६० घरपरिवार वस्छन् । त्यो जमिन नेपालको हो । तर, भारतले कोशी व्यारेज संचालन प्रयोजनको लागि सो जमिन पनि भाडामा लिएको भनिन्छ । नेपाल प्रहरीको विट, भन्सार कार्यालय जस्ता नेपाल सरकारका सीमा कार्यालयहरु पनि त्यही जमिनमा छन् ।
सोही ठाउँमा करिब ६० घरपरिवार वस्छन् । सवै सुकुम्वासी हुन् । किनभने त्यहाँका वासिन्दासँग आफू बसेको जमिनको लालपूर्जा छैन ।
कोशी व्यारेजबाट सो वस्तीलाई देव्रे पारेर आधा घण्टा कोशी किनारै किनार पैदल हिडेपछि नेपाल भारत सीमा छुट्याउने सानो ‘जंगे पिलर’ भेटियो । पारी (भारत) को भीमनगर सहर नपुगी हामी कोशी व्यारेज दक्षिणको बस्तीलाई फेरि देब्रे पारेर भारततर्फ गएको नहरको किनारै किनार राजमार्गतिर फर्कियौं ।
नेपालको भन्सार कार्यालय नजिकै आइपुगेपछि एकजना सेतै कपाल फुलेका व्यक्ति सानो किराना पसलमा बसिरहेका भेटिए । ओखलढुंगाको माम्खाबाट २०२८ सालमा झरेका कुलबहादुर केसी ।