‘बिहानको पौने १२ बजेको थियो। स्कुलको अवस्था बुझेर घरतिर लाग्दै थिएँ। स्कुलबाट ५० मिटर दुरीमा रहेको भट्टीपसलमा निर्धक्क मादक पदार्थ र चुरोट सेवन गरिरहेका किशोर देखेँ।किशोरलाई टाढाबाट चिन्न सकिनँ। तर, किशोरले लगाएको पोसाकले मन खिच्यो। पोसाक आफ्नै स्कुलको चिनिहाले। मेरै स्कुलमा कक्षा ८ मा पढ्दै गरेका ती किशोरलाई अलि नजिक पुगेसी चिनेँ। स्कुल नगएर किन भट्टी पसे यिनीहरू ?’
उनलाई सुरुमा त झनक्क रिस उठ्यो। तर, रिसले समस्या सुल्झाउन्न। उनी थामिए। उनी अर्थात् मकवानपुर जिल्ला मनहरी गाउँपालिकाको एउटा सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष।
‘अनि के गर्नुभो त?’
‘पहिले त रिस कन्ट्रोल गरेँ। आफूलाई सम्हालेँ। नजिकै गएँ। त्यो किशोरले नदेख्ने गरी मोबाइलले दुईटा फोटा खिचँे। अझै नजिक जाँदै थिएँ। उसले मलाई देख्यो अनि कुलेलम ठोक्यो।’
‘अनि ?’
‘भोलिपल्ट ऊ स्कुल आएन। किन आएन आज पनि कतै भट्टीमै त छैन भन्ने लाग्यो। वरपरका सबै भट्टीमा हेर्न पठाएँ, ऊ भेटिएन। अनि घरमा बुझ्न पठाएँ, न घरैबाट पो आएन कि भनेर।’
‘घरैमा रै’छन त ?’
‘कहाँ हुनु, घरबाट त समयमै स्कुल निस्केको खबर पाइयो, त्यसपछि हामीले स्कुल नगएको खबर ग¥यौं। परिवारले पत्याएन। आमामात्रै हुनुहुन्थ्यो घरमा। उहाँले उल्टै हामीमाथि शंका गर्नुभो। उहाँ (आमा) र हामी खोज्न निस्क्यौं। वरपर सोधिखोजी गर्दा ऊ मनहरी बजारमा रहेको बुझियो, त्यहाँ पुग्दा उसलाई क्यारिम बोर्ड खेल्दै गरेको भेटियो। नजिकै पुग्दा सास ह्वास्सै गन्हायो।
‘पारिवारिक पृष्ठभूमि कस्तो थियो?’ हामीलाई जान्न मन लाग्यो। हामी अर्थात् नागरिक समाज मञ्च, मकवानपुरआबद्ध अनुगमन टोलीका सदस्य।
टोली जिल्लाका केही शैक्षिक संस्थाको अनुगमनका क्रममा थियो। साथमा मञ्चका अध्यक्ष रमिला सापकोटालगायत पदाधिकारी र दुईजना पत्रकारसहित थियौं। केही संस्थागत र निजी विद्यालयको अनुगमन गर्ने र त्यहाँ देखिएको समस्या, समाधानको लागि गरिएको पहल, शिक्षण सिकाइमा प्रयोग भएका उदाहरणीय शैली आदानप्रदान गर्ने टोलीको योजना थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भन्दै गए– ‘म पहिले यही क्षेत्र (मनहरी) को शिक्षक। रिटायर्डपछि आफ्नो गाउँघरको स्कुलमा केही गरांै भनेर लागेको। अवस्था भद्रगोल नै छ। नैतिकता हराउँदो छ। अचेलका विद्यार्थीले आफ्ना अभिभावकलाई पटक्कै टेर्दैनन्। अभिभावक पनि हत्तपत्त सन्तानप्रति चासो राख्दैनन्।’
उनले फेरि उही किशोरको कुरा जोड्न चाहे । भन्दै गए–‘सबैकुरा खोल्दा स्कुलकै बदनाम हुन्छ । उनी ब्राह्मण परिवार वैष्णव सम्प्रदायका विद्यार्थी। अभिभावकले ऊ भट्टीमा पसेको चुरोट रक्सी खाएको कुरा सुन्नै चाहेनन्। सुधारको त कुरै छाडौं– तपाईंले फसाउन खोज्नुभो । हाम्रो छोरो त्यस्तो छैन,’ भनेर हामीमाथि नै खनिनुभो उहाँहरू। यस्ता विद्यार्थीलाई राम्रोसँग परामर्श जरुरी छ। हामीले सकेको गरेका छौं। परिवार सम्भ्रान्त नै छ। तर, सन्तानको लागि आवश्यक रेखदेख भन्दा नि देखासिकी बढी।’
ती किशोरको बानी सुध्रिएन अन्ततः उनले स्कुल छाडे।
‘कुची लगाउनुपर्ने कसिंगर हावाले उडायो। बेस नै भो हैन र?’
‘हैन, समस्या समाधान कहाँ भए? थुप्रै छन् गुपचुप राख्नुपर्ने समस्या।’
‘अस्तिको समस्या झन् जटिल छ हगि?’ अध्यक्षज्यूले आफूसँगै रहेका स्कुलका प्रधानाध्यापक र शिक्षकतर्फ फर्कदै भने। अरु पनि समस्या सेयर गर्न चाहेजस्तो हामीले बुझ्यौं।
‘अरु केही सर ?’