एनआरएनए क्यानडा : एनसीसीमा वामपन्थी बर्चस्व

विजयी एनआरएएनए क्यानडा एनसीसी सदस्यहरू । तस्बिर : बीएल

गैरआवासीय नेपाली महासंघ (एनआरएनए) क्यानडाको आगामी कार्यसमितिमा वामपन्थी बर्चश्व हुने देखिएको छ । राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्यका लागि शनिवार पाँच क्षेत्रमा भएको निर्वाचन नतिजाले वामपन्थी हावी हुने संकेत देखिएको हो । यसअघिका दुई कार्य समितिमा पनि वामपन्थी बर्चश्व हावी थियो ।

निर्वाचन आयुक्त चन्द्र राईका अनुसार, सबैभन्दा बढी मतदाता रहेको ब्राम्प्टनबाट दिनेश खतिवडा (नेत्र) र पिताम्बर भट्टराई विजयी भएका छन् ।

यसैगरी मिसिसागाबाट विजय पौडेल र तुलासिंह भट्टचन, स्कार्ब्रोबाट फणिन्द्र श्रेष्ठ र उज्वल थापा, मानिटोवा प्रोभिन्सबाट सुशील दोरंगा र ब्रिटिश कोलम्बिया प्रोभिन्सबाट शरद शेरचन चुनिएका छन् ।

ती क्षेत्रबाट आठ एनसीसी सदस्यनिम्ति धेरै जनाको उम्मेद्वारी परेपछि एनआरएनए क्यानडाले निर्वाचन गराएको थियो ।

निर्वाचनभन्दा पहिल्यै टोरन्टोबाट चिरञ्जिवी घिमिरे र सरोज भट्टराई, एडमण्टनबाट अर्जुनकुमार विश्वकर्मा, क्याल्गेरीबाट अनन्त आचार्य र सास्काचुनबाट देबेन्द्रहरी सुबेदी निर्बिरोध भएका थिए ।

यसरी निर्वाचित १३ एनसीसी सदस्यमा धेरैजसो वामपन्थी विचारधारा अँगाल्ने देखिएका छन् । उनीहरुको विजयमा खुसी मनाउनेमा पनि वामपन्थी आस्थाकै बढी छन् ।

निर्वाचितमध्ये केहीले आफूलाई स्वतन्त्र दावी गरे पनि उनीहरुलाई खुलेरै कुनै न कुनै दलले समर्थन गरेको देखिन्छ ।

एनसीसी सदस्यका लागि स्कार्ब्रो निर्वाचन क्षेत्रमा रश्मी थापा मगर उम्मेद्वार थिइन् । उनी पराजित भइन् । योसँगै एनसीसीमा निर्वाचित हुने महिला भने शून्य हुन पुगेका छन् ।

अगष्ट १७ मा हुने अधिवेशननिम्ति ‘सदस्यता विवादित क्षेत्र’बाट चार जना मनोनित गरी एनसिसी सदस्य संख्या १७ पुर्याइनेछ ।

ती १७ एनसिसी सदस्यले सकेसम्म सर्वसम्मत नत्र चुनावी प्रक्रियाबाटै एनआरएनए क्यानडाका लागि आगामी दुईबर्षे नयाँ कार्यसमिति चयन गर्नेछन् ।

अगष्ट १७ मा एनसिसीको अधिवेशन टोरन्टोको ब्राम्प्टनमा हुँदैछ ।

नयाँ कार्यसमिति भने १७ सदस्यीय मात्रै हुनेछ । अहिलेको कार्यसमितिमा भने १५ एनसिसी सदस्य, १३ सल्लाहकार र दुई अन्तरार्ष्ट्रिय संयोजकसहित ३० जना थिए ।

बैठकमा ‘सधैंजसो कोरम नपुग्ने समस्या भएपछि कार्यसमिति घटाएर १७ जनाको बनाइन लागेको’ भनिएको छ ।

यसअघि एनआरएनए क्यानडाका सात कार्यसमितिलाई अध्यक्षका रुपमा क्रमशः शम्भु धमला, नवराज गुरुङ (दुईपल्ट), विनोद केसी, अनिल थापा, तुल्सी सापकोटा र गोपीकृष्ण काफ्लेले नेतृत्व गरेका थिए ।

प्रकाशित मिति: : 2019-08-11 09:24:59

प्रतिकृया दिनुहोस्