पीएसजीका नेयमारले लिग वानको पहिलो खेल नखेल्ने

Agency

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका नेयमारले लिग वानको पहिलो खेल गुमाउने भएका छन्।

फ्रान्सको लिग च्याम्पियन पीएसजीका स्टार नेयमारले निम्सविरुद्वको पहिलो खेल नखेल्ने भएका हुन् ।

२७ वर्षिया नेयमारले क्लब छाड्ने सम्भावना पहिलाको भन्दा प्रवल रहेको भन्दै लिग वानको पहिलो खेल नखेल्ने क्लबका स्पोर्टिङ डिरेक्टर लियोनार्दोले बताएका हुन् ।

तर उनले क्लबले सरुवाको कुनै अनुमति नदिएको समेत दाबी गरेका छन्।

विश्वको क्लब फुटबलका सर्वाधिक महङ्गा खेलाडी नेयमार पछिल्लो समय बार्सिलोना वा रियल मड्रिड फर्कन खोजिरहेका छन् ।

बार्सिलोनाले ट्रान्सफर विन्डोको सुरुवातदेखि नेयमारलाई अनुबन्ध गर्ने भनेपनि फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको आगमनसँगै अब नेयमार बार्सिलोना जाने एकदम कम सम्भावना रहेको छ । क्रिस्टियानो रोनाल्डोको प्रस्थानपछि उनको उत्तराधिकारीको खोजीमा रहेको रियल म्याड्रिड नेयमारको लागि उचित गन्तव्य हुने देखिन्छ । रियलका लागि मात्र नभएर नेयमार र पीएसजीका लागि यो उचित विकल्प हुन सक्छ । रियलले नेयमारलाई अनुबन्ध गर्न उनको माग पूरा गर्न सक्छ । पीएसजीको माग अनुसारको रकम तिर्न पनि रियल सक्षम छ । नेयमारले यसअघि ला लिगामा आफूलाई सिद्ध गरेका कारण पनि रियललाई थप फाइदा छ ।

उनी सन् २०१७ मा पीएसजी पुगेका थिए । कतारी लगानीकर्ताले करिब २ सय मिलियन पाउण्ड खर्चिएपछि उनी फ्रान्सेली लिग पुगेका थिए ।

उनले पछिल्ला दुई सिजनमा ३४ गोल गरेका छन् । तर चोटका कारण दोस्रो सिजनका अधिकांश खेल गुमाएका थिए।

 

प्रकाशित मिति: : 2019-08-11 07:09:31

प्रतिकृया दिनुहोस्