जगन्नाथ मावि केन्द्रीय कारागारको घेराभित्र छ। २०१९ सालमा स्थापना भएको यो विद्यालयले विद्यामात्रै दिँदैन, जेलको घेराबाट छिटो बाहिर निकाल्छ पनि।
महोत्तरीका अभिषेककुमार तिवारी हुन् विद्यालयका ‘हेड सर’। उनीसहित ९ जनाको दरबन्दी छ। अभिषेक अर्थशास्त्रमा स्नातकोत्तर हुन्। विद्यालयमा पढाएबापत हरेक वर्ष उनको दुई महिना कैद घट्छ। लागुऔषध मुद्दामा १४ वर्ष कैद तोकिएका अभिषेकले यहाँ पढाएरै कटाए डेढ वर्ष कैद।
स्नातक गर्दागर्दै २०६५ सालमा जेल परेका थिए। अब दुई वर्षमा उनको कैद भुक्तान सकिन्छ। जेलमा पढाएबापत शिक्षक कैदीले पाउने सुविधा यही हो।
केन्द्रीय कारागारभित्र तीन विद्यालय छन्। यीमध्ये जगन्नाथ माविमा कक्षा १२ सम्म पढाइ हुन्छ। यही कारागारको अर्को ब्लकमा बन्दी विकास आधारभूत विद्यालय छ। ६ जना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ। त्यसपछिको पढाइ जगन्नाथ माविमा पूरा गर्छन् विद्यार्थी।
बाहिरको भन्दा विद्यार्थीको उमेर उल्टो छ जेलमा। जति तल्लो कक्षा उति नै बुढा विद्यार्थी। सबैभन्दा बढी उमेरका कक्षा एकमा हुन्छन्।
यो विद्यालयका ‘हेड सर’ हुन् महेश पराजुली । उनी कर्तव्यज्यान मुद्दामा २०६९ सालमा जेल परेका हुन्। पछि आचरण राम्रो भएको भन्दै उनले पनि पढाउने काम पाए। गएको चैतदेखि त ‘हेड सर’ नै भए।
केन्द्रीय कारागारमै महिला थुनुवालाई पढाउने विद्यालय पनि छ, महिला बन्दी विकास।
महिला बन्दी विकासमा दुईजना शिक्षकको दरबन्दी छ। यहाँ शिक्षक पनि महिलामै छन्। महिला बन्दी विकासमा ८ कक्षासम्म पढाइ हुन्छ।
यी विद्यालयका व्यवस्थापन समिति पनि छन्। समितिमा जेलर र कारागारका कर्मचारीसँगै जिल्ला शिक्षा कार्यालयका कर्मचारी रहन्छन्। बाहिरका विद्यालयभन्दा यहाँका विद्यालयमा कतिपय कुरा समान छन्। र, काँडेतारभित्र केही असमानता पनि छन्।
जेलभित्र पढाउनका लागि कैदीबाटै शिक्षक छनोट गरिन्छ। व्यवस्थापन समितिले शिक्षक नियुक्त गर्छ। शिक्षक जेलबाट छुट्नेबित्तिकै सबैलाई थाहा हुन्छ रिक्तभएको। अनि, योग्यता पुगेकाको होडबाजी नै चल्छ आवेदन दिन। तीमध्येबाट छानिन्छन् शिक्षक।
पहिले १० कक्षासम्म पढाइ हुँदा कक्षा १२ सम्म पास गरेको शिक्षक राखिन्थ्यो । अहिले १२ सम्म पढाइ हुन थालेपछि पाँचजना स्नातकोत्तर गरेका शिक्षक राखिएको छ। अरु स्नातक छन्।