एनआरएनए क्यानडा : एनसीसी सदस्यका लागि पाँच ठाउँमा चुनाव, नतिजा आजै बेलुकी

क्यानडामा जारी छ- एनआरएन चुनाव, त्यो पनि एनसिसी सदस्यकै लागि । तस्बिर : बीएल

एनआरएनए क्यानडाको आठौं अधिवेशन पूर्वसन्ध्यामा शनिवार बिहानैदेखि राष्ट्रिय समन्वय परिषद् (एनसिसी) सदस्यको चुनाव हुँदैछ । पाँच ठाउँमा जारी चुनाव सौहार्दपूर्ण वातावरणमा भइरहेको छ । नतिजा आजै बेलुकी आउनेछ । 

आठ एनसिसी सदस्यका लागि पाँच निर्वाचन क्षेत्र ब्राम्प्टन, मिसिसागा, स्कार्ब्रो, मानिटोवा र ब्रिटिश कोलम्बियामा चुनाव भइरहेको हो । ती क्षेत्रबाट आठ सदस्यनिम्ति १३ जनाको उम्मेद्वारी परेपछि निर्वाचन गराउनु परेको हो ।

सात सय १४ सदस्य रहेको ब्राम्प्टनमा कुन्दन घिमिरे, दिनेश खतिवडा (नेत्र), पिताम्बर भट्टराई र राजकुमार महत उम्मेद्वार छन् । उनीहरु मध्येबाट दुई निर्वाचित हुने छन् ।

यसैगरी चार सय ८१ सदस्य रहेको मिसिसागामा बिजय पौडेल, बिरेन्द्रबहादुर राउत र तुलासिंह भट्टचनबीच चुनावी प्रस्पिर्धा हुँदैछ । यहाँबाट दुई जना नै निर्वाचित हुने छन् ।

तीन सय ६६ सदस्य रहेको स्कार्ब्रोमा फडिन्द्रकुमार श्रेष्ठ, हेमन्तमोहन थापा (उज्वल), रमेशकुमार प्रसाईं र रश्मी थापा भिडेका छन् । त्यहाँबाट पनि दुई जना नै निर्वाचित हुने छन् ।

८४ सदस्य रहेको मानिटोवामा एक एनसिसी सदस्यनिम्ति सुशील दोरंगा र बिनोद कटुवाल क्षेत्रीवीच प्रतिस्पर्धा हुँदैछ ।

साथै, ब्रिटिश कोलम्बियामा पनि एक एनसिसी सदस्यनिम्ति जगदिश कँडेल, शरद शेरचन र सुरज बर्तौलाबीच चुनाव हुँदैछ । त्यहाँ ८३ सदस्य छन् । 

यो पनि पढ्नुहोस् 

एनआरएन क्यानडामा लाग्यो चुनाव :शुरू भयो आरोप-प्रत्यारोप

उम्मेद्वार बढी भएका र सर्वसम्मत निर्वाचित हुन नसकेका निर्वाचन क्षेत्रमा चुनाव भइरहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त चन्द्र राईले ‘सबैतिर सौहार्द्धपूर्ण वातावरणमा चुनाव भइरहेको’ बताए । 
‘अपरान्ह १२ बजेसम्म झण्डै ५० प्रतिशत सदस्यले मतदान गरिसकेका छन्’ राईले ‘ब्रेक एण्ड लिंक्स’सित भने, ‘चुनावको नतिजा आजै बेलुकी सार्वजनिक गर्नेछौं ।’

पाँच ठाउँमा जारी चुनाबबाट आठ जना निर्वाचित भएपछि यसपल्ट एनआरएनए क्यानडामा निर्वाचित हुने एनसिसी सदस्य संख्या १३ पुग्नेछ । 

यो पनि पढ्नुहोस् 

एनआरएनए क्यानडा : अधिवेशन पूर्वसन्ध्यामा '१२७ फ्याक्टर' र २३ सवाल-जवाफ

चुनावअघि नै टोरन्टोबाट चिरञ्जिवी घिमिरे र सरोज भट्टराई, एडमण्टनबाट अर्जुनकुमार विश्वकर्मा, क्याल्गेरीबाट अनन्त आचार्य र सास्काचुनबाट देबेन्द्रहरी सुबेदी निर्बिरोध निर्वाचित छन् । 

अर्को साता हुने अधिवेशननिम्ति ‘सदस्यता विवादित क्षेत्र’बाट चार जना मनोनित गरी एनसिसी सदस्य संख्या १७ पुर्याइनेछ । ती १७ एनसिसी सदस्यले सकेसम्म सर्वसम्मत नत्र चुनावी प्रक्रियाबाटै एनआरएनए क्यानडाका लागि आगामी दुई बर्षे नयाँ कार्यसमिति चयन गर्नेछन् । 

अगष्ट १७ मा एनसिसीको अधिवेशन ब्राम्प्टनमा हुँदैछ । नयाँ कार्यसमिति भने १७ सदस्यीय मात्रै हुनेछ ।

अहिलेको कार्यसमितिमा भने १५ एनसिसी सदस्य, १३ सल्लाहकार र दुई अन्तरार्ष्ट्रिय संयोजकसहित ३० जना थिए । 

‘बैठकमा कोरम नपुग्ने समस्या भएपछि कार्यसमिति घटाएर १७ जनाको बनाइन लागेको’ भनिएको छ ।

यसअघि एनआरएनए क्यानडाका सात कार्यसमितिलाई अध्यक्षका रुपमा क्रमशः शम्भु धमला, नवराज गुरुङ (दुईपल्ट), विनोद केसी, अनिल थापा, तुल्सी सापकोटा र गोपीकृष्ण काफ्लेले नेतृत्व गरेका थिए ।

प्रकाशित मिति: : 2019-08-10 22:19:14

प्रतिकृया दिनुहोस्