मिंग्मा डन्डु शेर्पा नेपाल क्रिकेट संघ (क्यान) प्रदेश-१ को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
शनिबार भएको निर्वाचनले शेर्पा नेतृत्वको १३ सदस्यीय कमिटि चयन गरेको छ। उपाध्यक्षमा नविन घिमिरेनिर्वाचित हुँदा राष्ट्रिय क्रिकेट टिमका पूर्व विकेटकिपर ब्याट्सम्यान तथा हाल नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाल सचिव निर्वाचित भए। कोषाध्यक्षमा विरू श्रेष्ठ निर्वाचित भएका छन्।
को हुन् शेर्पा ?
अध्यक्ष मिंग्मा डन्डु शेर्पा नेपाल क्रिकेट संघका पूर्व सीईओ तथा पोखरा प्रिमियर लिग आयोजक छुम्बी लामाका दाई हुन्।
शेर्पा योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालका केन्द्रिय सचिव तथा नेकपाका प्रदेश-१ कमिटि सदस्य समेत रहेका शेर्पा क्विन्स इभेन्ट्सले आयोजना गर्ने पोखरा प्रिमियर लिगको टिम चितवन राइनोजको प्रवन्ध निर्देशक समेत हुन्।
यस्तै क्विन्सले घोषणा गरेको वुमेन्स च्याम्पियन्स लिग टि-२० का समेत शेर्पा मालिक हुन्।
उनले निर्वाचित भएपछि क्रिकेट विकासको लागि काम गर्ने बताएका छन्। प्रदेश-१ मा झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर गरि ५ वटा जिल्ला क्रिकेट संघ रहेका छन्।
‘प्रदेश १ मा क्रिकेटको विस्तार र विकासका लागि मेरो नेतृत्वको टोलीले भरपुर काम गर्नेछ। यस क्षेत्रमा रहेका सम्भावित जिल्लामा हामी क्रिकेट संघसँग थप जिल्लाहरुलाई आवद्ध गराउने छौं। अहिले प्रदेश १ मा ५ जिल्लामा मात्रै क्रिकेट संघमा जोडिएका छन् । मेरो कार्यकाल भरमा सम्पूर्ण प्राविधिक कामका साथै क्रिकेट विकासका लागि थप पहल गर्नेछु,’ शेर्पाले भनेका छन्।
पर्सा अध्यक्षमा दाउद
पर्सा जिल्ला क्रिकेट संघको निर्वाचनले दाउद अन्सारीलाई अध्यक्ष चयन गरेको छ। संघको कार्यसमितिमा उपाध्यक्ष मुर्तुजा हवारी, सचिवमा सतिश सिंह राजपुत तथा कोषाध्यक्षमा बाबुजान अन्सारी रहेका छन्।
कुल ३९ वटा जिल्ला क्रिकेट संघहरु मध्ये अब निर्वाचन हुन काठमाडौं मात्रै बाँकी रहेको छ।
जिल्लाको निर्वाचन पछि प्रदेशको निर्वाचन हुँदै केन्द्रको चुनाव सम्पन्न भएमा नेपाललाई आईसीसीले लगाएको प्रतिबन्ध फुकुवा हुनेछ।
प्रदेश-१ भन्दा अघि सुदूरपश्चिम प्रदेशको निर्वाचनबाट हरि रेग्मी अध्यक्ष चयन भइसकेका छन्।
नेपाली क्रिकेटमा राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो।