बिहेको दिन विक्रमले भनेको थियो, ‘मैले बिहे गरेँ, म विदेश जानुभन्दा पहिले तेरो बिहे भएको हेर्न चाहन्छु।’
मैले उसलाई जवाफ दिएँ, ‘ह्या ल्याङ नगर न यार। म कसैको एकतर्फी प्रेममा छु। उनको मनमा म अट्न सक्छु या सक्दिनँ थाहा छैन। यदी अटेँ भने मेरो बिहे धुमधामसँग गरौंला।
प्रेम भनेको सुनेर ऊ उत्साहित भयो र भन्यो, ‘कतै तिम्रो एकतर्फी प्रेमिका मनिषा त होइन नि?’
‘होइन यार, मनिषा त साथीमात्र हो’ म जवाफ दिन्छु। ‘तर, मनिषाले तलाईं धेरै चाहन्छे। जतिबेला नि तेरै गुणगान गाउँछे। उसले भूमिका बाँध्यो। म झस्किएँ। ख्यालठट्टामा एकदिन मैले उसलाई भनेको थिएँ, ‘बिहे त म तिमी सँगै गर्छु।’ कतै उसले मेरो कुरालाई गम्भीर रुपमा त लिइन? मलाई शंका लाग्न थाल्यो।
‘अनि को हो त भन्न?’ विक्रमले आफ्नो जिज्ञासा मर्न दिएन। ‘नाम त मलाई पनि थाहा छैन तर बिहान–बिहान मेरो पसल अगाडिबाट स्कुल गइरहेको देख्छु। देखेको धेरै भयो तर बोलेको छैन।’
‘स्कुलमा पढ्ने विद्यार्थीलाई पनि छाड्ने भइनस् है’, उसले व्यंग्य कस्छ। ‘मैले विद्यार्थीको कुरा गरेको हैन, ऊ शिक्षिका हो’, मेरो जवाफपछि ऊ थप आश्चर्यमा पर्यो। म उसलाई त्यो दिनबारे सुनाउन थालेँ।
दशैंको समय थियो। म पसल अगाडि बाटोमा उभिएको थिएँ। कसैको मुखबाट ‘समर लभ’ भन्ने शब्द निस्कियो। मैले उपन्यासको कभर प्रिन्टवाला टिसर्ट लगाएको थिएँ। उसले मेरै टिसर्टको प्रिन्ट पढेकी रै’छे भन्ने चाल पाइहालेँ।