मानिस र सर्प द्वन्द्व
सर्पलाई नागदेवता भनेर पूजा पनि गरिन्छ। गाउँघरमा भने सर्प देख्नेबित्तिकै मार्ने पनि गरेको पाइन्छ। कति ठाउँमा त यसलाई भोजनको रूपमा पनि उपयोग गरिन्छ। विशेष गरी सहरीकरणले सर्प बस्ने ठाउँ पनि अतिक्रमण हुँदै गएको छ। जलवायु परिवर्तनसँगै सर्पको विष पनि कडा हुँदै गएको अनुमान छ।
तराईमा मात्रै पाउने सर्प पनि पहाडतिर उकालो लाग्दै छन्। गर्मीले गर्दा यस्तो भएको हुन सक्छ। मानिस र सर्पबीचको यो द्वन्द्व रहिरहन्छ होला। ‘इकोसिस्टम’का लागि पनि सर्प जरूरी छ।
जस्तै, किसानको खेतको मुसा सर्पले खाइदिएन भने धान नै भित्र्याउन पाउँदैन।
अर्को कुरा, सबै सर्प बिषालु हुदैनन्। नब्बे प्रतिशत सर्प बिषालु हुदैनन्। विषालुमध्येमा पनि मानिसलाई डसेर समस्या पार्ने गोमन र करेतले हो। जतिसुकै विषालु सर्पले पनि भोक लागेर डस्न आउने होइन।आफूलाई सुरक्षा खतरा देख्यो भने मात्रै डस्ने हो।
नेपालमा सर्पको बिगबिगी छ। विशेष गरि मनसुन सुरू भएसँगै सर्पको डसाइ पनि बढ्दै जान्छ। अहिले त बाढीले सर्पदंशको संख्या ४ गुनाले बढेको तथ्यांकले देखाएको छ।
देशव्यापी रूपमा हामीले गरेको अनुसन्धानअनुसार नेपालमा वर्षेनी झन्डै ४० हजार व्यक्तीलाई सर्पदंश हुने गर्छ। यो संख्या तराई क्षेत्रको मात्रै हो। हामीले तराईका २६ मध्ये २३ जिल्लामा अनुसन्धान गरेका हौं। पहाडको पनि तथ्यांक जोड्ने हो भने संख्या अझै बढेर जान्छ। पहाडमा हरियो सर्पले धेरै टोक्छ।
सर्पदंशको कारण
तराईका ग्रामीण भेगमा सर्पदंश बढी हुन्छ। गरिब मानिस,जो खेती किसान गर्नुहुन्छ, जंगल जानुहुन्छ, घास दाउरा गर्नुहुन्छ,गाईवस्तु चराउनुहुन्छ, उहाँहरूको जीवनमा सर्पसँग जम्काभेट हुने अवस्था धेरै आउँछ। सर्पले डस्ने खतरा हुन्छ।
अर्कोतिर राति सुतिराखेको ठाउँमा पनि करेतजस्ता सर्पले टोक्छन्।
निदाएको बेला हातखुट्टा चलाउँदा छोइएर सर्पलाई चोट लाग्यो भने सर्पको डस्ने सम्भावना बढी हुन्छ।
रातिमा सर्पले डसेर मृत्यु हुनेको संख्या निकै बढेको छ। गाउँघरको समस्या भएको हुनाले उपचारको पनि अभाव छ।
नेपालमा हुने सर्प गोमन र करेत हुन्, उनीहरूको टोकाइबाट स्नायु प्रणालीमा असर गर्छ। त्यसले गर्दा आँखाको लोतीमा प्यारालाइसिस भएर नचल्ने हुन्छ। मुख, जीब्रो, घाँटी, गर्दन र फोक्सो चलाउने मांसपेशी प्यारालाइसिस हुँदै गएपछि श्वास फेर्नै नसकेर बिरामीको मृत्यु हुन्छ।