साहित्य–राजनीति, दुवैमा अब्बल

तस्बिरः बाह्रखरी

अक्षर काका


“राजनीति शौचालय हो, साहित्य भोजनालय हो ।”
सिन्धुपाल्चोक ‘मूलथलो’ भएका दिवङ्गत कवि केदारमान व्यथित बारबार यी उक्ति दोहोर्‍याउँथे ।

व्यक्तित्व निर्माणको पूर्वाद्र्धमा प्रजातान्त्रिक आन्दोलनमा दिलोज्यान दिएका कवि स्वयम् कुनै समय राजनीति भनेपछि हुरुक्क हुन्थे । २०१७ सालमा राजा महेन्द्रले अर्का साहित्य मर्मज्ञ विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निर्दलीयता लादेपछि २०१९ सालमा तुलसी गिरी नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री पनि नियुक्त भए ।

तर व्यथितको राजनीति लामो समय टिकेन न त उनलाई राजनीतिले कुनै परिचय नै थमायो । नेपाली साहित्यको फराकिलो फाँटमा दुई दर्जन काव्य–कृति पस्किएका इन्द्रावती किनारवर्ती क्षेत्रका यी कविलाई साहित्यवृत्तले जत्ति जान्दछ, योभन्दा कयौं गुणा कम राजनीतिक वृत्तले चिन्दछ ।

मुलुकको राजनीतिक उतार–चढाव, आरोह–अवरोह र उहापोहबाट वाक्कदिक्क भएपछि व्यथितले यसप्रकारको भाष्य विनिर्माण गरेको हुनुपर्छ । राजनीतिलाई शौचालयको उपमा थमाएर उनी आफू साहित्यको भोजनकक्ष छिरेर काव्यसुधामा आस्वादित भएको हुनुपर्छ ।

राजनीतिलाई साहित्यसँग समउचाइ दिन नसकेकाले पनि व्यथितको ‘कुण्ठा’ प्रकट भएको तर्क पनि यदाकदा नसुनिने होइन ।

कारण– नेपालको राजनीतिक रङ्गमञ्चमा साहित्य र राजनीतिलाई उत्तिकै न्याय प्रदान गर्नेहरू पनि छन् । अथक साधना र रुचिकर शैलीका कारण साहित्य र राजनीतिलाई एउटै उचाइ दिन सफल भएका पनि छन् । 
राजनीति र साहित्यलाई समन्याय प्रदान गर्ने अग्रणी पात्र हुन् विश्वेश्वरप्रसाद कोइराला ।

राजनीतिमा प्रजातान्त्रिक समाजवाद भित्राउने विश्वेश्वरले साहित्यमा ‘फ्रायडवादी’ चिन्तन अङ्गीकार गरे । यद्यपि, कोइराला आफ्ना सिर्जनालाई फ्रायडवादी चिन्तनको उपज मान्न अस्वीकार गर्छन् ।

२०१२ सालमा उनले अघि सारेको प्रजातान्त्रिक समाजवादले जति छाप छाडेको छ, त्यस्तै अमिट छाप छाडेको छ– उनका मनोविश्लेषणात्मक साहित्य–सिर्जनाले ।

नेपाली समाजमा कोइरालाका बारेमा अनेक भाष्य, कथ्योपकथ्य र मिथहरू निर्माण भएका छन् ।

बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलन सफलीभूत त भयो उनकै जीवनकालमा, तर त्यो दीर्घजीवी बन्न सकेन । शैशवावस्थामै त्यसको चीरहरण भयो । उनी बाचुञ्जेल दरवारमा कैद रहेको प्रजातन्त्रले रिहाइ पाउन सकेन । मुक्तिका लागि आन्दोलनका आवाजहरू एकत्रित पनि हुन सकेनन् । यसर्थ, कोइरालालाई असफल राजनीतिज्ञको दर्जा दिनेहरू पनि प्रशस्तै छन् ।

नेकपाका नेता प्रदीप नेपाल भन्छन्, “विश्वेश्वरप्रसाद कोइराला असफल राजनेता र सफल साहित्यकार हुन् ।”

तर साहित्यमा उनको विराटता निर्विवाद छ । नेपाली समाजको मनोदशालाई मिहीन ढङ्गले केलाउने उनले समयभिन्न चेतना निर्माणमा उल्लेख्य योगदान गरेका छन् । विशेषतः त्यतिबेलाको समाजको यौनमनोदशा र अन्तर्वृत्ति केलाउने निहुँमा उनी आफू बाँचेको युगभन्दा कयौंगुणा अघि फड्को मारेको आभाष हुन्छ ।

त्यसो त उनले आफ्नाबारेमा आफैं भाष्य निर्माण गरेका छन्– “म राजनीतिमा प्रजातान्त्रिक समाजवादी, राजनीतिमा अराजकतावादी हुँ ।”

प्रकाशित मिति: : 2019-08-10 08:17:18

प्रतिकृया दिनुहोस्