जब कुनै पुस्तक दोकानमा पुग्छु, कुनै पुस्तकालयमा पुग्छु वा आफ्नै घरका पुस्तकहरूको नजिक हुन्छु, मलाई आफू भित्रभित्रै सुखी र सम्पन्न भएको अनुभूति हुन्छ। मैले सानैदेखि पुस्तकसँग खेल्न सिकेँ।
पुस्तकले मलाई जहिले पनि आकर्षित गरे। उहिले शनिश्चरे बजारमा हाट लागेको दिन भुईँभरि प्लाष्टिकमाथि विभिन्नखाले पुस्तक फैलाएर बेच्न राखेको हुन्थ्यो । तोलामैनाका कथा, गुलबकवालीको कथा, बेताल पच्चिसी, अकबर वीरबलका कथा, हम जाएगा, मनलहरी आदिदेखि धार्मिक, तिलस्मी, ज्योतिषसम्मका किताब हुन्थे। भारतको दार्जिलिंगतिर लेखिएका प्रकाश कोविद, जय धमला, सुवास आदिका व्यावसायिक उपन्यासहरू हुन्थे । बाहिर खोल हालेर नाम छोपेर बेच्ने गरिएका मीना आगोको ज्वालोमा, नीना आगोको ज्वालोमाजस्ता यौन आख्यानहरू पनि हुन्थे। तिनै किताबको बीचमा मुनामदन, रमाइलो नानी, गुणरत्नमाला, सयपत्रीको फूल, आतंक, राक्षस राज्य, रत्न भवन आदि किताबहरू पनि हुन्थे। किन्ने पैसा हुँदैन थियो। म धेरै समय ती दोकानअघि बसेर एकएक गर्दै पुस्तकका गाता पल्टाइरहन्थेँ।
धेरैपल्ट आमाले मलाई ती किताब दोकानबाट उठाएर लाने गर्नुभएको थियो। कहिलेकहीँ सस्ता दामका किताब आमाले किनिदिनु पनि हुन्थ्यो। अक्षर नचिनेकी मेरी आमाका लागि सबै किताब उस्तै लाग्थे र, तीमध्येका सस्तो छानेर किनिदिनु हुन्थ्यो। त्यसैगरी किनिएका सस्तोमध्येको मुनामदन आमाको लागि सबैभन्दा मन परेको किताब भयो। जुन किताब म प्रायः जसो सस्वर वाचन गरेर उहाँलाई सुनाउने गर्थेँ। रमाइलो नानी चाहिँ मेरो साहित्यिक यात्राको प्रस्थानविन्दु थियो। यसबारे मैले पहिले नै कतै चर्चा गरिसकेको छु।
निरक्षर आमालाई मैले किताब पढेको सुन्न साह्रै मन पथ्र्यो । घरमा पन्ना उक्किसकेको गुणरत्नमाला पनि उहाँको मनपर्ने किताब थियो। गाउँमा धेरैले पढ्ने भनेको स्कुलको किताब मात्र हो भन्ने बुझेकालाई त्यो बेलामा स्कुलबाहिरका किताब पढ्नु भनेको खराब बाटोतिर लागेको मानिन्थ्यो। तर, आमा आफैंलाई यस्ता किताब सुन्ने बानी परेपछि किताब दोकानेसँग राम्रो किताब कुन हो भन्दै कहिलेकहीँ किनेर ल्याउनुहुन्थ्यो र, मलाई पढ्न लगाउनुहुन्थ्यो। एक दिन उहाँले बाहिर गातामा नासो लेखेको किताब ल्याउनुभयो। यो किताब मैले पढ्दै गरेकोभन्दा अलिक अर्कै जस्तो थियो। यसमा लेखिएका कति शब्दहरु बुझ्न पनि गाह्रो थियो। त्यसबाट दिनको एउटा कथा पढ्दै निकै दिन लगाएर सुनाई सकेँ। त्यस किताबका कथाहरू आमालाई साह्रै मन परे। त्यसभित्रका छिमेकी र नासो कथालाई मैले धेरै पछिसम्म सुनाइरहनु परेको थियो।
आमालाई किताब पढेर सुनाउने बानीले एक्लै पनि पढिरहन मन लाग्ने हुँदै गयो। बिस्तारै मलाई जस्तासुकै किताब पनि पढ्ने लत बस्दै गयो। कालान्तरमा मैले किताबमै जीवन बिताउन पुगेँ। म बिस्तारै पठनमात्र होइन, लेखनतिर पनि लागेँ र, अरुका किताब पढिरहने म आफैंले पनि अरुलाई पढ्न हुने किताब लेख्न थालेँ।
आज बिर्तामोडको घरको पुस्तकालय अगाडि बसेर जब पुस्तकहरू हेरिरहेछु, मलाई मेरा पुराना पुस्तकसँगका दिनहरूको स्मरण भइरहेको छ। यो पुस्तकालयमा भएका सबै किताब मैले पढेको छैन। तर, देख्नेबित्तिकै किनिहाल्ने बानीले भेला भएका यी अब फेरि ढुक्कले बसेर पढिने पनि होइनन्। सयौं पुस्तक स्थानीय पुस्तकालयमा पनि पुगे। कैयौं पुस्तक साथी भाइहरूले लगेर ज्ञान बढाए होलान्। मुसा र धमिराले पुस्तकमाथि गरेका अत्याचार त के सम्झिरहनु?