काठमाडौँ, साउन २५ गते । काठैकाठले बनेको विश्वप्रसिद्ध सत्तल काष्ठमण्डप पुनःनिर्माणमा भक्तपुर डिबुछो, गलसीको एउटा राजचल परिवार एक वर्षदेखि निरन्तर खटिइरहेको छ ।
सात पुस्तादेखि काठका बुट्टा कुँद्ने काम गर्दै आएको राजचल परिवारको तीन पुस्ता अहिले काठमण्डप पुनःनिर्माणमा जुटेको हो । हनुमानढोकास्थित पुरानो प्रहरी कार्यालयको भवन परिसरमा राँवो, बसिला, रन्दा र आरासँग दैनिकी बिताइरहेका ७३ वर्षे लक्ष्मीभक्त राजचलले भन्नुभयो, “जानेकै यही त हो, अरू के काम गर्ने ? स्कुल बिदा भएको बेला त नातिसमेत आएर सघाउँछ । ”
काष्ठमण्डपको दोस्रो तहको थाममाथि राख्ने निदालको गास बनाउन तल्लीन लक्ष्मीभक्तले दाउराको फेरले पसिना पुछ्दै भन्नुभयो, “ऐतिहासिक सम्पदा संरक्षणमा पसिना बगाउन पाउँदा गर्व लाग्छ । एउटा इतिहासमा इँटा थपेजस्तो हुन्छ । ” लक्ष्मीभक्तका दुई छोरा लक्ष्मीप्रसाद र कृष्णप्रसादसहित भाइ, भान्जा र भतिजा गरी १० जनाको समूहले काष्ठमण्डपको थाम, निदाल, मेठ, झ्यालका बुट्टा बनाइरहेका छन् ।
पुनःनिर्माणमा सम्भव भएसम्म पुरानै काठ प्रयोग गर्नुपर्ने भएकाले पुराना बुट्टालाई दुरुस्त उतार्न र जडानमा विशेष ध्यान दिनुपर्ने लक्ष्मीभक्तको अनुभव छ । बाबुबाजेसँगै काममा हिँड्दाहिँड्दै नौ वर्षको उमेरदेखि काम जानेका लक्ष्मीभक्तले भन्नुभयो, “विश्वविद्यालयमा गएर जानिने सीप हो र यो ? त्यही भएर आठ कक्षामा पढ्दै गरेको नातिलाई पनि बेलाबेलामा ल्याएर काममा लगाउँछु । चिनो लगाएको ठाउँमा उसले पनि प्वाल खोप्छ । ”
भक्तपुर नगरपालिका–५ डिबुछो, गलसीका लक्ष्मीभक्तका चार भाइ छोरामा सबै काष्ठ कालिगढकै रूपमा थिए । पछि सबैले एउटै काम के गर्ने भन्दै एक भाइ व्यापार र अर्को विदेशतिर लागे । पनौती, धुलिखेल, पाटन, काठमाडौँ, भक्तपुर मात्र होइन, भारतको बनारसमा समेत पुगेर लक्ष्मीभक्तले जीर्णोद्धार र पुनःनिर्माणको काम गर्नुभएको छ ।
बनारसमा ललिताघाट र राजराजेश्वरीघाट प्रसिद्ध छन् । रणबहादुर शाहका रानीहरू ललितत्रिपुरा सुन्दरी र राजराजेश्वरी देवीको नाममा स्थापना गरिएका यी दुई घाटनजिकै साम्राज्येश्वर महादेव मन्दिर छ । नेपाली शैलीको यो मन्दिर राजा राजेन्द्रवीरविक्रम शाहकी रानी साम्राज्यलक्ष्मी देवी शाहको अन्तिम इच्छाअनुसार १९०० सालमा बनाइएको हो ।
पशुपतिनाथको प्रतिस्वरूपजस्तो लाग्ने सो मन्दिरको मर्मत र चारवटा ढोका फेर्नका लागि २०५६ सालमा दुई जना अन्य सहयोगीसहित बनारस पुग्नुभएका लक्ष्मीभक्तले एक महिना बसेर धमिराले ध्वस्त पारेको चारवट ढोका राख्दाका ती कठिन दिन सम्झनुभयो, “नेपाली कलाको संरक्षण र नेपालीको इज्जतका लागि धेरै जोखिम लिएर ढोका फेरेको थिएँ । ”