‘तपाईं पोषणकै बारेमा कति लेखिरहनुहुन्छ ? तपाईंले लेखेका कुरा पढ्दा मलाई पनि कण्ठै भइसक्यो । अब कुनै नयाँ विषयमा लेख्नुस् न,’ एक पाठकले केही दिनअघि मलाई भनेका थिए, ‘हजुरआमाको भान्छा, मेरो विश्वविद्यालय’ नामक लेख शिलापत्रडटकममार्फत सार्वजनिक भएपछि ।
मैले उनलाई जवाफ दिएँ, ‘म लेखिरहन्छु, यही विषयमा । किनभने भोजन बढी भएर वा पोषण नपुगेर बालबालिकादेखि वयस्क र वृद्धसम्म अनेक समस्याबाट पीडित भएका छन् । एकातिर कुपोषण छ, अर्कोतिर जंक फुड खाएर मानिसमा मोटोपन बढेको छ । त्यही मोटोपनले उच्च रक्तचाप, मधुमेहको समस्या, ढाड र घुँडा दुख्ने समस्या निम्त्याएको छ ।
साधारण मानिसको औकातले अस्पतालमा लाग्ने खर्च धान्दैन । यसकारण, परिवारको आर्थिक अवस्था नै डामाडोल हुन्छ । विभिन्न पत्रिकामा छापिएका स्वास्थ्यसम्बन्धी लेख पढ्नोस् त कसरी कुपोषित बालबालिकाको संख्या बढेको छ त्यसैले मैले जति लेखे पनि हुन्छ । अझ विदेशमा त ‘पोषण’सम्बन्धी पत्रिकाहरू नै निस्कन्छन् । पोषणबारे अनेक अध्ययन तथा अनुसन्धान गरिन्छ । हामीकहाँ त्यसरी पत्रिका ननिस्के पनि अहिले मानिसलाई भोजन र पोषणप्रति निकै चासो छ । यो स्वास्थ्यसँग सिधै जोडिएको हुनाले मानिसलाई जानकारी दिन लेखिरहन्छु नै ।’
मेरो यो लामो स्पष्टीकरण पति उनी अवाक् भए होलान् । तर, मलाई पोषणबारे लेख्नु भनेर प्रेरणा दिइरहने पाठकहरू पनि धेरै छन् । ‘तपाईंले लेखेको लेख पढेपछि मैले छोरीलाई घरमै बनाएको सातु खुवाउन थालेको छु । मैले कोल्ड ड्रिंक त खान छोडें, मेरो तौल पनि घट्यो । मैले आलस र तिल खान थालें । म घाममा पनि हरेक दिन बस्छु । जीउ दुख्ने र घुँडा दुख्न एकदम कम भयो,’ एक पाठकले प्रतिक्रिया दिएका थिए । योे प्रतिक्रियाले म झन् ऊर्जा थपिदियो ।