भिनेत्री नम्रता श्रेष्ठका प्रायः फिल्म सफल छन्। उनको जीवन्त अभिनयको सधैं चर्चा भइरहन्छ। उनी बौद्धिक तथा शारीरिक सुन्दरताका हिसाबले पनि अब्बल मानिन्छिन्। शान्त र भावुक स्वभाव, बोल्ड डिसिजन, कामप्रति निष्ठा र इमानदारिता उनका विशेषता हुन्। कर्मअनुसारको फल प्राप्त हुन्छ भन्नेमा विश्वास राख्ने नम्रता लामो समय डिप्रेसनमा पनि परिन्। प्रस्तुत छ उनीसँग नेपालखबरले गरेको कुराकानी:
सुरुमा तपाईंको ‘चाइल्ड साइकोलोजिस्ट’ बन्ने सपना थियो। त्यो सपनालाई मोडेर कसरी फिल्मी क्षेत्रमा रमाउन सक्नुभयो?
मेरो सुरुमा फिल्म क्षेत्रप्रति नकारात्मक धारणा थियो। तर, ‘सानो संसार’ गरिसकेपछि त्यो धारणा हरायो। त्यसपछि ‘मेरो एउटा साथी छ’ले राम्रो रेस्पोन्स पायो। सिने क्षेत्रलाई पनि बुझ्ने अवसर पाएँ। त्यसपछि म यसैका लागि जन्मिएकी हुँ भन्ने भान भयो।
फिल्मी करियर सुरु गर्दा कुनै उचाइको कल्पना गर्नुभएको थियो?
म कुनै पनि काम गर्दा यहाँसम्म पुग्छु, त्यहाँसम्म पुग्छु भन्ने सोच राख्दिनँ। तर, म जहिल्यै यतिसम्म चाहिँ सोच्छु कि आजभन्दा भोलि मलाई राम्रो गर्नु छ। म त्यसमा कत्तिको सफल भएँ भन्ने कुरा त समय र परिस्थितिले थाहा हुने हो। तर, म यत्ति भन्न चाहन्छु कि व्यक्ति र कलाकारको रुपमा मलाई सधैं राम्रो गर्न मन लाग्छ र गर्छु पनि।
‘सानो संसार’ हुँदै ‘जाइरा’सम्म आइपुग्दा तपाईंको फिल्मी यात्राले एक दशक पार गरेको छ। यो समयलाई आफ्नो जीवनसँग जोडेर कसरी हेर्नुहुन्छ?
एकदमै रमाइलो यात्रा भयो जस्तो लाग्छ। ‘सानो संसार’मा काम गर्दा फिल्मको बारेमा केही पनि ज्ञान थिएन। आलोक दाइले सिकाउनु त भएको थियो तर मैले कुनै तालिम लिएकी थिएनँ। म एकदमै नर्मस थिएँ। मैले त्यसपछि जति फिल्म गरेँ त्यो नै मेरो स्कुलिङ भइदियो। फिल्ममा फरक निर्माता र कलाकारहरुसँग काम गरेँ। उहाँहरुको काम गर्ने तरिका र शैली सिक्न पाएँ। ‘जाइरा’सम्म आइपुग्दा व्यक्तिगत रुपमा म धेरै विकसित भएकोजस्तो लाग्छ।