‘माया’।
जन्मँदै उनले पाएको यो नाम आफैँमा जिन्दगीको एउटा भयंकर ‘सिम्बोल’ बन्यो।
बाजेका एघार भाइ छोरामध्येबाट जन्मिएकी पहिलो र एक्लीछोरी। त्यो पनि लाहुरे खानदान। न बाजेका छोरी थिए, न ‘बा’हरूका भए।
नाम दिइयो ‘माया!’
‘नामै माया नि,’ उनको त्यो सुधारगृह छिर्दानछिर्दै एकअर्कामा फ्र्याङ्क भइसकेका थियौँ, ‘सोच्नुस् न, यो मायासँग जोडिएका कति भोगाइ होलान् मसँग।
हर भोगाइ आफैंमा नेगेटिभ चै हुँदैनन्।
‘माया त लास्टै नि! बाजेका एघार भाइ छोराहरूबाट जन्मिएकी म पहिलो छोरी थिएँ,’ उनलाई कहिलेकाही लाग्छ त्यो ‘माया’ले जिन्दगी ‘हेल’ पनि भइदियो कि?
अनि सायद ‘हेवेन’ पनि।
‘त्यसैले त बच्चाबच्चीलाई धेरै मायामात्रै पनि गर्नु हुँदैन। शंका पनि गर्नुपर्छ। सुतिरहेको बच्चालाई सुतिरहेको भनेर छाड्ने होइन। के कारणले यति बेलासम्म सुत्यो त भन्नेतिर सोच्नुपर्छ गार्जियनले पनि।’
आज आएर उनलाई लाग्छ, ‘सबैभन्दा मेन कुरा त, आफ्ना सन्तानलाई चाहना होइन, आवश्यकतामा बाँच्न सिकाउनुपर्छ। माया त कसलाई पो हुन्न र?’
जिन्दगीको आफ्नो कथा भन्न उनलाई निकै दिन फकाउनुपर्यो।
भेट त भएको थिएन तर, तीन–चारपटक फोनमा भने कुरा भयो। बल्लतल्ल उनी फकिइन्।
फुकीढल ज्यान। मसिना एक केस्रा हातमा खोपिएका ट्याटु टाँठै हुन्छन्।
‘सायद ती जिन्दगीले खोपेका खत पो हुन् कि?’
‘गेट किपर’ ब्रोले भित्रबाट ताल्चा खोले।
सुधार गृहभित्र केही थान केटा पनि छन्। ती पनि सुध्रिएर आएका स्टाफका रूपमा। बाँकी महिला ‘क्लाइन्ट’लाई हेर्नेजति सब महिला स्टाफ नै।
‘त्यस बेला त ३५ किलोमात्रै थिएँ नि।’
‘अहिले नि त्यति धेरै होला जस्तो त लाग्दैन।’
लामो हाँसो हाँसिन् उनी ‘त्यस्तो त हैन है, ऐले त ५० केजी छु।’
अहिले त नियमित योगा छ। मेडिटेसन छ। जिम छ।
ज्यान त बनाउनै पर्यो नि!