परिवारबाट पीडित महिलाको विवशता र अज्ञानताको फाइदा उठाउँदै वैदेशिक रोजगारीको आवरणमा महिला बेचबिखन धन्दा मौलाएको छ ।
२०६५ सालमा श्रीमान् शैलेश राईले अर्की लिएर घर छाड्दा सविनाको काखमा पाँच महीनाको नाबालक छोरा थियो । विस्तारै सासू–ससुराले पनि वास्ता गर्न छाडे । पाँच वर्षसम्म पनि शैलेश नफर्केपछि उनी धनकुटाबाट धरानस्थित माइत गइन् । छोरा कक्षा चढ्न थालेसँगै खर्च पनि बढ्दै गयो । बुढेसकालका बाबु–आमा हेर्ने जिम्मेवारी पनि थपियो ।
त्यही क्रममा २८ वर्षीया सविनाको भेट झापाका पासिङ राईसँग भयो । पासिङले सविनालाई खाडी मुलुक कुवेतमा महीनाको ४० हजारसम्म कमाइने र त्यसका लागि आफूले सहयोग गर्ने बताए । पासिङले भने बमोजिम दुर्गा गुरुङ र राज गुरुङले सविना र पाँचथरकी माया लावती (३९) लाई २२ फागुन २०७५ मा काँकडभिट्टा नाकासम्म पुर्याए ।
नयाँदिल्लीसम्मको रेल चढाइदिए, भारतीय सिमकार्डसहित मोबाइल फोन पनि दिए । “उनीहरूले भनेको ठाउँ खोज्दै दिल्लीको किसनगढको एउटा कोठामा पुग्दा नेपालबाटै पुगेका अरु आठजना महिला पनि भेटिए, धादिङकी निता सुनार (३४) र रश्मी तामाङ (२२), पाँचथरकी गौमाया थामहाङ (४३), झापाकी रीता लिम्बू (३६), सुनसरीकी गीता चौधरी (३५), माया लिम्बू (४१), कपिलवस्तुकी गोमा भण्डारी (३५) र अर्की एक महिला ।
किसनगढको त्यो कोठामा खाँदिएका यी महिलाका घर, थर फरक भए पनि कथा र सपना भने उही थिए । उनीहरू सबै घरेलु हिंसा, अपहेलनाका कारण विदेशिन बाध्य भएका थिए । भारत हुँदै कुवेत पुग्न सजिलो छैन भन्ने त उनीहरूलाई थाहा थियो, तर घरभित्रको पीडा त्योभन्दा कयौं गुणा असह्य ।
त्यही कोठामा बस्दाबस्दै यी महिलाले आफ्ना व्यथा साट्न भ्याए । जस्तो कि, धरानकी माया लिम्बू श्रीमानबाट मात्र होइन, छोरा–बुहारीसमेतको व्यवहार सहन नसकी घर छाड्ने निष्कर्षमा पुगेकी रहिछिन् । श्रीमानको कुटपिट, अत्यधिक मादक पदार्थ सेवनबाट दिक्क रश्मी तामाङ विदेशको कमाइले एकमात्र छोरालाई राम्ररी पढाउन चाहन्थिन् ।