कुनै दिन वसन्ती डंगोल तामाङ ‘माग्दै’ हिँड्थिन् । महिला दिदी बहिनीका लागि अधिकार माग्थिन् । योजना माग्थिन् । सीप र स्वरोजगारको अवसर माग्थिन् । यसका लागि उनी विभिन्न निकायमा पुग्थिन् । गाविस धाउँथिन् । जिविस जान्थिन् । स्थानीय संघसंस्थादेखि मन्त्रालयसम्म पुग्थिन् ।
आज उनी ‘दिने’ ठाउँमा छिन् । उनलाई लाग्छ हिजो इमानदार मनले आफूभन्दा समाजका लागि मागेकैले यो ठाउँमा पुगेकी हुँ । कुनै दिदीबहिनी होस् वा दाजुभाइ या त आमाबुबा उमेरकै सेवाग्राही, जो कोही नगरपालिकाको सेवाबारे बुझ्न वा माग्न आयो भने उनी आफ्नो अतीतमा फर्किन्छिन् । पुराना दिन सम्झिन्छिन् । र, उनी भ्याएसम्म सेवाग्राहीको आँगनमै पुगेर सेवा गर्छिन् ।
हाल दक्षिणकाली नगरपालिकाको उपमेयरको जिम्मेवारीमा पुगेकी वसन्तीको ‘ब्याक स्टोरी’ निकै संघर्षशील छ । उनले सबैभन्दा पहिला आफैंसँग संघर्ष गरिन् । त्यसपछि परिवारभित्र अनि समाजसँग ।
साविक चाल्नाखेल ७ फर्पिङमा जन्मिएकी नेवारकी छोरी, पढ्दा पढ्दै प्रेम तामाङसँग प्रेम बस्यो । आज पनि जातीय स्वभावमा चल्न खोज्ने समाज दुई दशकभन्दा अघि झन् कति जटिल थियो होला ? त्यही जटिलताले गर्दा उनले प्रेममा पनि निकै दोमन भोगिन् ।
१५ वर्षकै उमेरमा विवाह गरेर तामाङ परिवारकी बुहारी बनेपछि उनले निकै सकस भोग्नुपर्यो । ‘समाजले नै जातपातको कुरा गर्थ्यो,’ अहिलेकी उपमेयर वसन्तीले बुहारी बनेर घर आउँदाको दिन सम्झिइन्, ‘मेरो सासूससुराले स्वागत गर्ने कुरै भएन । उहाँहरूलाई पनि स्वीकार्न मुस्किल भयो ।’