नेपाली कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी–२० को बरियतामा ठूलो छलाङ मारेका छन्। आईसिसिले हालै गरेको टी–२० को बरियता अन्तर्गत अलराउण्डतर्फ ४१ औं स्थानमा रहेका उनी २५ औं स्थानमा उक्लिएका छन्।
हालै मलेसियामा भएको अन्तर्राष्ट्रिय सिरिज र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आइसीसीको बरितयामा पनि ठूलो फड्को मारेका हुन्।
यस क्रममा उनले भारतीय खेलाडी सुरेश रैना, अफगानिस्तानका अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, रोहित शर्मा, बेन स्टोकलगायतलाई पछि पारेका छन ।
अलराउण्डर तर्फ नेपालका सोमपाल कामी भने खस्किएका छन्। ४८ औं स्थानमा रहेका कामी ६६ औं स्थानमा पुगेका छन्। बाँकि नेपाली खेलाडीहरू अलराउन्डतर्फ शीर्ष १०० भित्र अटाएका छैनन्।
यस्तै बलिङतर्फ नेपालका वसन्त रेग्मी र सोमपाल कामी दुबै खस्किएका छन्। नयाँ वरियता अनुसार बसन्त ७१ औं स्थानमा र सोमपाल ७८ औं स्थानमा छन्। यस अघि सोमपाल ६६ र वसन्त ६७ औं स्थानमा थिए। बाँकी नेपाली बलरहरू शीर्ष १०० भित्र अटाएका छैनन्।
यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन्। उनले भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई समेत पछि पारेका छन्।
धोनी ६७ औं स्थानमा रहेका छन्। यस्तै क्रिस गेल पनि पारस भन्दा पछाडि रहेका छन्। गेल ७३ औं स्थानमा पुगेका छन्।