‘पुरानो जमानाको मान्छे भएर पनि क्रान्तिकारी सोच ? आखिर केका लागि ?’ ९२ वर्षीय पत्रकार भैरव रिसालले अत्यधिक सामना गर्ने प्रश्न हो यो । कतै सभासमारोहमा पुग्दा होस् या पारिवारिक भेट, मानिसहरुले उनलाई फ्याट्टै सोधिदिन्छन्– ‘बुढेसकालमा पनि कत्ति क्रान्तिकारी हुन सकेको ?’
रिसाललाई उनलाई यस्ता प्रश्न सामान्यतः अनौठो लाग्दैनन् । नेपालको धार्मिक संस्कारकै आधारमा मानिसको सोचाई निर्धारण हुने सोचेर फिस्स हाँसिदिन्छन् । र, फिस्स हाँसेरै भनिदिन्छन्, ‘क्रान्ति गर्छु भन्नेहरुको सोच ‘गोबरल्वाँठ’ निस्क्यो, अनि म बुढोले क्रान्ति नगरेर के गर्नु त ।’ प्रश्न गर्ने मान्छेको पृष्ठभूमि असामान्य लाग्यो भने चाहिँ रिसालको ‘कन्पारो’ तात्छ ।
यस सम्बन्धमा उनी एक प्रसँग सुनाउँछन् ।
एक दिन एक समारोहमा नेपालका केही क्रान्तिकारी नेतासँग उनको भेट भयो । उनले त्यही मौका छोपेर देशमा शरीरदान र स्वेच्छिक मरणको कानुन बनाउन माग राखे ।
रिसालको कुरा बीचमा काट्दै ती नेता एकाएक बम्किए, ‘कस्तो कुरा गर्नुहुन्छ रिसाल जी ? हिन्दु धर्मको मान्छे भएर शरीर दान र स्वेच्छिक मृत्यु ? तपाईंलाई थाहा छैन ? हाम्रो संस्कारले यस्ता कुरा दिँदैन । क्रान्तिकारी बन्ने लहडमा अति त बोल्नुहुन्न नि ।’