दार्जिलिङलाई केन्द्रशासित गोर्खाल्याण्ड बनाउन माग : सुरू भयो चहलपहल

दार्जिलिङलाई केन्द्र स्वशासित अलग राज्य बनाउने माग त्यहाँका गोर्खेनेताहरूले गरेका छन् । भारतले जम्मु–कश्मीरलाई दिँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित दुई अलग राज्य बनाउँने निर्णय गरेसँगै दार्जिलिङमा यस्तो माग बढेको हो । 

दार्जिलिङलाई प्रतिनिधित्व गर्ने भाजपा सांसद राजु विष्टले कश्मीरबारे सरकारी निर्णयले प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रका जनतामा आशा पलाएको बताए । उनले  ‘भाजपाले राखेको प्रतिबद्धता पूरा गर्छ,’ भन्दै त्यसका लागि आफू लागिपरेको पनि बताए । 

यो पनि हेर्नुहोस् 
नमूना स्कुलको नमूना काम : भण्डारा दाजुभाइलाई शिक्षाको न्यानो घाम

भूमिगत गोर्खे नेता विमल गुरुङले प्रस्तावित गोर्खाल्यान्ड क्षेत्रलाई केन्द्र अधीनस्थ राख्नुपर्ने माग गर्दै यसका लागि अहिले सही समय भएको बताएका छन् । उनले सबै प्रस्तावित गोर्खाल्यान्ड पक्षधर नेता र दल मिलेर यसका लागि आन्दोलन गर्नुपर्ने पनि बताए ।

ब्रेक एन लिंक्ससँग कुरा गर्दै उनले भने- गोर्खाको सपना पूरा गरे भने मोदीले नै गर्ने हो, अरूबाट सम्भव छैन । 

अर्का गोर्खेनेता मन घिसिङले भाजपाले गोर्खाहरूलाई दिएको वचन पूरा गर्ने समय आएको बताएका छन् । 

तर, चुनावमा तृणमूल कांग्रेसलाई सघाउने गोर्खे नेताहरूले पनि प्रस्तावित गोर्खाल्याण्डको विरोध गर्न सकेनन् । तर, उनीहरूले भाजपाले त्यो सपना साकार नपार्ने बताए । ममता बेनर्जीले गोर्खाल्यान्ड क्षेत्रीय प्राधिकरण अध्यक्ष बनाएका अनित थापाले भाजपा गोर्खाप्रति अनुदार रहेको बताए ।  

प्रकाशित मिति: : 2019-08-07 08:40:31

प्रतिकृया दिनुहोस्