आइसीसीले टी-२० को विश्वकप ग्लोबल क्वालिफायरका लागि जिम्बाबेको स्थानमा अफ्रिकी मुलुक नाइजेरियालाई मौका दिएको छ।
आइसीसीले विज्ञप्ति जारी गर्दै ग्लोबल क्वालिफायरको १४ औं टिमको रूपमा नाइजेरियालाई छानिएको जनाएको छ।
यो सँगै टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने नेपालको सबै सम्भावनाहरू सकिएका छन्।
नाइजेरिया अफ्रिकी छनोटमा तेसो भएको थियो। यसअघि अफ्रिकाबाट केन्या र नामिबिया ग्लोबल क्वालिफायरका लागि छानिएका छन्।
नाइजेरिया अब आउँदो अक्टोबरमा युएईमा हुने ग्लोबल क्वालिफायरमा आयोजक युएई, हङकङ, आयरल्याण्ड, जर्सी, केन्या, नामिबिया, नेदरल्याण्डस, ओमान, पपुवान्युगिनी, स्कटल्याण्ड, र सिंगापुरसँगै ग्लोबल क्वालिफायर खेल्ने छ।
ग्लोबल क्वालिफायर खेल्ने १६ टिम मध्ये अमेरिका क्षेत्रबाट दुई टिम छानिन अझै बाँकि छ।
आइसीसीले महिला विश्वकपको क्वालिफायरमा भने जिम्बाबेको ठाउँमा नामिबियाको महिला टिमलाई छनोट गरेको छ।
अघिल्लो महिना सिंगापुरमा सम्पन्न एशिया स्तरको छनोटमा नेपाल तेस्रो हुँदै ग्लोबल क्वालिफायरबाट बाहिरिएको थियो।
आइसीसीको टी-२० वरियतामा जिम्बाम्बेभन्दा नेपाल माथि रहेकाले जिम्बाबेको ठाउँमा छनोट गर्नसक्ने झिनो आशा नेपाली क्रिकेटप्रेमीहरूको थियो।
तर, आइसीसीले अफ्रिकाबाट छनोट खेलमा तेस्रो भएको नाइजेरियालाई अवसर दिनासाथ नेपालको २०२० को टी-२० विश्वकप खेल्ने झिनो आशा पनि समाप्त भएको छ ।