भारतले वेस्टइन्डिजविरूद्धको टी-२० सिरिजमाथि क्लिनस्विप गरेको छ ।
गएराति सम्पन्न तेस्रो टी-२० खेलमा वेष्टइण्डिजलाई ७ विकेटले हराउँदै भारतले टी-२० सिरिज ३-० ले जितेको हो ।
वेस्टइन्डिजले दिएको १४७ रन पछ्याएको भारतले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
भारतका लागि ऋषव पन्तले सर्वाधिक अविजित ६५ रन बनाएका थिए। पन्तले ४२ बल खेल्दै ४ चौका र ४ छक्का प्रहार गरेका थिए। यसअघि दुबै खेलमा जम्न नसकेका पन्त अन्तिम खेलमा महत्वपूर्ण इनिङ्स खेले।
त्यस्तै कप्तान विराट कोहलीले ४५ बलमा ५९ रन बनाएका थिए । कप्तान कोहलीले पन्तसँग १०६ रनको साझेदारी गर्दै खेललाई जित नजिक पुर्याएका थिए।
रोहित शर्माको ठाउँमा खेलेका केएल राहुलले २० रन बनाउँदा शिखर भवन ३ रनमा आउट भएका थिए।
मनिष पाण्डे २ रनमा अभिजित रहे।
वेस्टइन्डिजका ओसमान थोमसले २ विकेट लिए भने फाबियन एलेनले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रन बनाएको थियो।
वेस्टइन्डिजका लागि केरन पोलार्डले सर्वाधिक ५८ रन बनाए। ४५ बल खेल्दै उनले ६ छक्का र १ चौकासहित अर्धसतक पुरा गरेका थिए।
त्यस्तै रभमन पावेलले २० बलमा ३२ रन बनाए भने निकोलस पुरनले १७ तथा कप्तान कार्लोस ब्रेथवेट र एविन लुइसले १०-१० रन बनाए।
वेष्टइन्डिजलाई कम स्कोरमा रोक्न भारतीय बलर दिपक चाहरले सर्वाधिक ३ विकेट लिएका थिए। चाहरले ३ ओभरमा एक मेडनसहित मात्र ४ रन दिएर ३ विकेट लिएका थिए।
त्यस्तै नवदीप सैनीले २ विकेट लिएका थिए भने आफ्नो डेभ्यु खेल खेलेका राहुल चाहरले एक विकेट लिएका थिए।
भारतका बलर दीपक चाहर खेलको प्लेयर अफ द म्याच बने भने सिरिजमा अलराउन्ड प्रदर्शन गरेका क्रुनाल पाण्डेय प्लेयर अफ द सिरिज बनेका थिए।