क्यानाडामा जारी ग्लोबल टी-२० का दुवै खेल रद्ध भएका छन्। वर्षाले दुवै खेल रद्ध भएपछि चारै टिमले समान एक-एक अंक बाँढेका छन्।
गए राति हुनुपर्ने ब्रम्पटन वोल्भ्स र एडमन्टन रोयल्सबीचको पहिलो तथा भान्कुवर र विन्निपेग हव्क्सबीचको दोस्रो खेल रद्ध भएका हुन्।
दोस्रो राउण्ड अन्तर्गतको अन्तिम खेल अब आज राति सन्दीप लामिछानेको टीम टोरोन्टो नेशनल्स र मोन्टरियल टाइगर्सबीच खेल हुने छ ।
अहिलेसम्मको खेलपछि ब्रम्पटन वोल्भ्स र भान्कुवर नाइट्स प्लेअफका लागि छनोट भएका छन्।
ब्रम्पटन ६ खेलमा ४ जित, एक खेल रद्ध तथा एक हारसहित ९ अंक बटुलेर अंक तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको हो।
यस्तै भान्कुवर नाइट्स ६ खेलमा ३ जित एक हार तथा दुई खेल रद्ध हुँदा ८ अंकसहित दोस्रो हुदै प्लेअफमा पुगेको छ।
अब प्लेअफमा पुग्ने दुई टिमको टुंगो भने अन्तिम खेलपछि मात्र लाग्ने भएको छ।
टोरोन्टो र मोन्टरियल दुबैलाई प्लेअफमा पुग्न अन्तिम खेल जित्नैपर्ने हुन्छ। मोन्टरियल ५ अंकसहित पाँचौ स्थानमा छ भने टोरन्टो ४ अंकसहित छैठौं स्थानमा छ।
अन्तिम खेल जितेमा टोरन्टो तेस्रो हुँदै प्लेअफमा पुग्नेछ। तर पराजित भएमा भने टोरोन्टो बाहिरिने छ। तर बराबरीले पनि टोरन्टोलाई दोस्रो चरण पुर्याउनेछ।
टोरन्टोले जितेको खण्डमा टोरोन्टोसँगै सोमपाल कामीको टिम विन्निपेग हव्क्स पनि चौथो हुँदै प्लेअफमा पुग्नेछ।
विन्नीपेग मोन्टरियलले टोरोन्टोलाई हराएमा पनि प्लेअफमा पुग्ने छ। तर, अन्तिम खेल पनि बर्षाले रद्ध भए विन्नीपेग बाहिरिने छ भने मोन्टरियल र टोरोन्टो प्लेअफमा पुग्नेछन्।
त्यस्तै एडमन्टन रोयल्स भने ६ खेलमा ३ अंक हासिल गर्दै प्रतियोगिताबाट बाहिरिएको छ।