पाँच राष्ट्र सहभागी टी-२० प्रतियोगिता खेल्न नेपाललाई ओमानको निम्तो

Agency

नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी अक्टोबरमा ओमानमा टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने निम्तो पाएको छ।

नेपाल र आयोजक ओमानसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिताको लागि नेपाललाई समेत निम्तो आएको छ। टी-२० प्रतियोगिता अक्टोबर-३ ( असोज १६ ) गते देखि आयोजना हुने बताईएको छ।

सेतोपाटीका अनुसार प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने ओमान क्रिकेटका प्रमुख प्रशासकीय अधिकृत (सिएओ) एकबाल अरिवलाले जानकारी दिए।

पाँच वटै टिमलाई प्रतियोगितामा भाग लिन एक महिनाअघि पत्र पठाएको बताउँदै एकबालले भने, ‘सबै टिमले खेल्ने पक्का भइसकेको छ।’

नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले नेपाललाई निम्तो आएको स्वीकार गरेका छन्। नेपाललाई टि-२० विश्वकप छनोट ( एसिया फाइनल ) खेल्नु अघिनै प्रतियोगिता खेल्न निम्तो आएको उनले बताए।

नेपाल र आयोजक ओमान सहित प्रतियोगिता खेल्न ओमान क्रिकेटले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई पनि निम्तो दिएको छ। नेपालबाहेक अन्य ४ टोलीले ११ अक्टोबरदेखि युएईमा आयोजना हुने टी-२० विश्वकप ग्लोबल छनोट खेल्नेछन्।

त्यसैको तयारीको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। नेपाल भने छनोटको एसिया फाइनलमा तेस्रो हुँदै बाहिरिएको थियो।

व्यवस्थापक शिवाकोटीका अनुसार निम्तो आए पनि नेपालले खेल्ने/नखेल्ने बारे आईसीसीले अनुमति दिनुपर्ने हुन्छ।  आईसिसिको निर्णय आइसकेको छैन।

ओमान टी-२० अन्तर्राष्ट्रिय वरियतामा १८ औं स्थानमा रहेको छ। नेदरल्याण्ड १३ औं, आयरल्याण्ड १५ औं, हङकङ १९ औं स्थानमा छ। नेपाल सबैभन्दा अघि वरियतामा ११ औं स्थानमा छ।

२०१८ डिसेम्बरको अन्तिमा आईसीसी टी-२० वरियतामा ११ देखि १६ औं स्थानमा रहेका कारण स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हङकङ, ओमान र आयरल्याण्ड सिधै टी-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिएका हुन्।

युएईले यसअघि नेपालसंगै एसिया फाइनल खेल्नु परेता पनि पछि आईसीसीले ग्लोबल छनोट आयोजकको भूमिका दिँदा आयोजकको रुपमा स्वतः छनौट भएको थियो।

प्रकाशित मिति: : 2019-08-06 19:27:17

प्रतिकृया दिनुहोस्